आकाश बोहरा / कञ्चनपुर : जिल्लाको भीमदत्त नगरपालिका–१४, नयाँगाउँस्थित सरस्वती विद्या मन्दिरले आफ्नो २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।

लामो समयदेखि शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको विद्यालयले २६औँ वार्षिकोत्सव सफलतापूर्वक मनाएको हो। यस अवधिमा विद्यालयका विद्यार्थीहरूले देशका विभिन्न सरकारी कार्यालय, व्यवसाय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर बहादुर कुँवरले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा हरिदत्त जोशी (शिक्षा शाखा प्रमुख, भीमदत्त नगरपालिका) रहनुभएको थियो।

शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रममार्फत आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए। साथै विद्यालयका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो।






