कञ्चनपुर : एन–प्याब्सन भीमदत्तनगर कमिटीको आयोजनामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता २०८२ शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयको सहभागिता रहेको थियो, जसमा कृष्णपुर नगरपालिकाका २ र भीमदत्तनगरपालिकाका १३ विद्यालय रहेका थिए ।

प्रतियोगितामा एपेक्स विद्यालय प्रथम, रिच एकेडेमी बङ्क द्वितीय, लिटिल बुद्ध एकेडेमी तृतीय तथा फ्लोरिडा इन्टरनेशनल माध्यमिक विद्यालय चौथो भएका छन् । प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः रु. १५ हजार, १२ हजार, १० हजार र ७ हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने एन–प्याब्सन भीमदत्तनगरपालिकाका संयोजक द्विजराज भट्टले जानकारी दिनुभयो ।

कार्यक्रम एन–प्याब्सन भीमदत्तनगरपालिकाका नगर कमिटी अध्यक्ष द्विजराज भट्टको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा भीमदत्तनगरपालिकाका नगर प्रमुख पदम बोगटी रहनुभएको थियो भने विशिष्ट अतिथिमा एन–प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्यामसिंह मौनी र केन्द्रीय कानुन सल्लाहकार प्रकाशबहादुर पाण्डेय रहनुभएको थियो ।

कार्यक्रममा भीमदत्तनगरपालिका प्रमुख प्रायोजकका रूपमा रहेको थियो भने सह–प्रायोजकमा सरस्वती पुस्तक भण्डार, ज्ञान भण्डार, ठाकुर पुस्तक भण्डार (कैलाली), टाइम्स प्रकाशन, चौलानी ट्रेडर्स एण्ड गार्मेन्ट सिलाई सेन्टर, रिडमोर प्रकाशन तथा स्वस्तिक बुक रहेका थिए ।






