कञ्चनपुरः पतञ्जलि योग समिति कञ्चनपुर र विनय ग्रुप भीमदत्त नगरपालिका–०६ को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। एघारौं राष्ट्रिय योग दिवसको अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रम तथा विनय ग्रुपको नवौं स्थापना दिवसको उपलक्ष्यमा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

‘रक्तदान जीवनदान’ भन्ने मूल मन्त्रका साथ माघ १७ गते शनिबार सम्पन्न कार्यक्रममा ४८ पिन्ट रगत संकलन गरिएको रक्त सञ्चार सेवा केन्द्रका ल्याब इन्चार्ज नरेन्द्रदेव जोशीले जानकारी दिनुभयो ।

कार्यक्रममा कञ्चनपुरका विभिन्न योग साधना केन्द्रका साधकहरू तथा विनय ग्रुपसँग आबद्ध युवाहरूले रक्तदान गरेका थिए। रामजानकी योग साधना केन्द्रका योग प्रशिक्षक रूपदेव भट्टले रगतले मानिसको जिउ–ज्यान बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आफूले रक्तदान गरेको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा कसैलाई रगतको आवश्यकता परे आफू र आफ्नो योग साधना केन्द्र रक्तदानका लागि सधैं तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

‘‘शरीरले दिन सक्छ, मनले बचाउँछ’’ भन्ने संकल्पका साथ नवौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको विनय ग्रुपका व्यवस्थापक राकेश जोशीले बताउनुभयो। रक्तदानमार्फत कसैको जीवन बचाउन सकिने भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ।
कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी कञ्चनपुरका उपाध्यक्ष मञ्जु दहाल, जिल्ला रेडक्रस सदस्य तथा रक्त सञ्चार सेवा समिति संयोजक सिद्धराज भट्ट, पतञ्जलि योग समिति कञ्चनपुरका अध्यक्ष दया कृष्ण जोशी लगायतको उपस्थिति रहेको थियो।






