नेपाली कम्युनिष्ट पार्टीद्वारा १,५५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ अन्तर्गत नेपाली कम्युनिष्ट पार्टीले १ हजार ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ। नेता देवीलाल चौधरीको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो। मंगलबार झलारीमा सम्पन्न बैठकमा नेता देवीलाल चौधरीको अध्यक्षतामा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भानुभक्त जोशीले निर्वाचन केन्द्रित प्रशिक्षण दिनुभएको थियो। बैठकले निर्वाचन मूल परिचालन समितिको सह–संयोजकमा खेमराज पाण्डेयलाई चयन गरेको छ।

निर्वाचन क्षेत्रभित्र रहेका पार्टीका केन्द्रीय सदस्य, प्रदेश समितिका सदस्य, तीनवटै पालिकाका पदाधिकारी, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि, वडा तहका पदाधिकारी तथा पार्टीका अग्रणी नेताहरूलाई समेट्दै मूल परिचालन समिति गठन गरिएको पार्टीले जनाएको छ। निर्वाचनलाई लक्षित गर्दै पार्टीले मंगलबार नै पालिकास्तरका संयोजकहरू पनि तोकेको छ। जसअनुसार कृष्णपुर नगरपालिकाको संयोजकमा अमिन दहित, शुक्लाफाँटा नगरपालिकाको संयोजकमा महेशदत्त जोशी र बेतकोट नगरपालिकाको संयोजकमा मिनराज गिरिलाई जिम्मेवारी दिइएको छ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्य तथा युवा नेता माधव पन्तलाई प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनाएको छ। तारा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा रहेका पन्त नेकपा एमालेको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरी समाजवादी पार्टी हुँदै हाल नेपाली कम्युनिष्ट पार्टीको विभिन्न तहमा सक्रिय रहँदै आएका छन्। शुक्लाफाँटा नगरपालिकाका स्थायी बासिन्दा पन्तले कानुन, अन्तर्राष्ट्रिय सम्बन्ध, अंग्रेजी लगायतका विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गर्नुका साथै हाल पीएचडी स्कलरका रूपमा अध्ययनरत छन्।

साथै, उनी विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा अध्यापनसमेत गराउँदै आएका छन्।उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता एनपी साउँद, नेकपा एमालेका बचनबहादुर सिंह र राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक बोहरालगायत उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। यसैबीच, नेपाली कम्युनिष्ट पार्टीले माघ १५ गते निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका तीनवटै पालिकामा पालिकास्तरीय बृहत् भेला आयोजना गर्ने निर्णय पनि गरेको छ।

ताजा समाचार

spot_img