समाजवादको यात्रालाई अगाडि बढाउने मेरो लक्ष्य हो : माघव प्रसाद पन्त

कञ्चनपूर : नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माघव प्रसाद पन्तले समाजका सिमान्तकृत वर्गको जीवनस्तर परिवर्तन गर्दै समाजवादको यात्रालाई अगाडि बढाउनु नै आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभएको छ।

निर्वाचन अभियानका क्रममा प्रतिक्रिया दिँदै उम्मेदवार पन्तले शिक्षा, स्वास्थ्य र रोजगारीमा सिमान्तकृत समुदायको पहुँच सुनिश्चित नगरी समृद्धि सम्भव नहुने उल्लेख गर्नुभयो। “गरिबको मुहार फेर्न, विभेद अन्त्य गर्न र सबैलाई समान अवसर दिनु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्य र रोजगारीलाई केन्द्रमा राखेर जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउन म प्रतिबद्ध छु।

उहाँले विदेश पलायन भएका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न ठोस नीति आवश्यक रहेको बताउनुभयो। युवाशक्ति देशको विकासको मेरुदण्ड भएको उल्लेख गर्दै उहाँले स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्न नसक्दा देशले ठूलो जनशक्ति गुमाइरहेको धारणा राख्नुभयो।

उम्मेदवार पन्तले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउँदै राष्ट्रिय स्वाधीनता र अखण्डता जोगाउनु आफ्नो प्रमुख राजनीतिक दायित्व भएको बताउनुभयो। “नेपाललाई स्वाभिमानी राष्ट्रका रूपमा अगाडि बढाउन राष्ट्रिय हितलाई सर्वोपरि राख्नुपर्छ,” उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्न म सधैँ जनताको पक्षमा उभिनेछु।” उहाँले भूमिहीन, सुकुम्बासी र आरक्षका कारण विस्थापित नागरिकको समस्या समाधानका लागि विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। साथै, वन्यजन्तु नियन्त्रण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन योजना ल्याइने उहाँको भनाइ छ।

“जनताको आवाज बनेर संसदमा पुग्नेछु,” पन्तले भन्नुभयो, “आधारभूत तहदेखि राष्ट्रिय तहसम्म जनताका मुद्दा उठाउने, जनताको दुःख–सुखमा हातेमालो गर्ने मेरो संकल्प हो। विभेदरहित, समानतामा आधारित समाज निर्माण गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, भूमि समस्या र सामाजिक न्यायका विषयलाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले समाजवादको यात्रामा सबैलाई खुसी र सम्मानित जीवनतर्फ अघि बढाउने लक्ष्य रहेको बताउनुभयो।

ताजा समाचार

spot_img