कर्मचारीहरुलाई नगरप्रमुख बोगटीले भन्नुभयो: ‘इमान्दारीका साथ काम गर्नुहोस्, कसैको धम्कीले नडराउनुहोस्’

महेन्द्रनगर : भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले कर्मचारीहरूलाई इमान्दारीपूर्वक काम गर्न आग्रह गर्नुभएको छ । उनले कसैको डर, धम्कीदेखि नडराएर जनताको हितमा पारदर्शी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो ।

जेनजी आन्दोलनपछि बुधबार बसेको शाखा प्रमुखहरूको बैठकमा मेयर बोगटीले हाल देश जटिल अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै कर्मचारीहरूमा पहिलेजस्तो उत्साह घट्दै गएको बताउनुभयो । “यहाँहरू सबैलाई थाहा छ, देशको अवस्था चुनौतीपूर्ण छ । कर्मचारीहरूमा उत्साह घटेको देखिन्छ ।”

उहाँले भन्नुभयो “तपाईहरु इमान्दारीपूर्वक काम गर्नुहोला, कसैको डर–धम्कीबाट नडराउनुहोला म तपाईंहरूको साथमा छु ।” नगरप्रमुख बोगटीले नयाँ उमंग र उत्साहका साथ नयाँ कार्यशैली अपनाई जनताका काममा लाग्न आग्रह गर्दै जनतामा देखिएको निराशालाई न्यूनीकरण गर्न पनि आह्वान गर्नुभयो ।

त्यसैगरी, उनले अनावश्यक तालिम, बैठक र भत्ताहरूमा खर्च कटौती गर्न समेत निर्देशन दिनुभयो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले पनि पुरानो कार्यशैली परित्याग गरी आधुनिक र प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

ताजा समाचार

spot_img