झलारी : जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आक्रोशित भीडले शुक्लाफाँटा नगरपालिकाको प्रशासकीय भवनमा तोडफोड गरेर क्षति पुरयाए पनि नगर प्रहरीको सुझबुझ र सक्रियताले भवन आगजनी हुनबाट जोगिएको छ ।
हातमा ढुंगामुढा, बाँसको डण्डा र फलामका रड बोकेका युवाहरूले नगरपालिकाको मूल गेट तोडेपछि उनीहरू प्रशासकीय भवनतर्फ धकेलिएका थिए ।

“केही मिनेटमै भवनका सिसा फुटाइए, कम्प्युटर र फर्निचर तोडफोड गरियो” नगर प्रहरी प्रमख पदम बहादुर ऐले भन्नुभयो, “भीड यतिमै रोकिएन, नगर प्रमुख र उपप्रमुखको कार्यकक्षभित्र रहेका फर्निचर बाहिर निकालेर आगो लगाइयो ।” “सम्पती तपाईहरुकै हो, तपाईहरुलाईनै काम लाग्छ भनेर युवालाई आगो नलगाउन हात जोडेर बिन्ती गरे तर, भीड अडिग रह्यो, सुरुमा सभा हलमा बोतलमा पेट्रोल बोकेर आएका युवाहरुले छर्कदै आगो सल्काउन थालेका थिए, आगो सल्कीन थालेपछि निभाए,नजिकैको फायर स्टिङ ह्विसर थियो, युवाहरुलाई त्यो देखाउदै यसले आगो बाल्न मद्धत गर्छ भने उनीहरु सिलिण्डर समातेर छर्कन थाले, आगो निभाउने साधन हो भन्ने उनीहरुलाई थाहा थिएन” उहाँले भन्नुभयो ।

“अरु नगर प्रहरीलाई पनि सिलिण्डरमा रहेको ग्यास छर्किन इसारा गरे उनीहरुले पनि छर्किन थाले, ग्याँसले पुरै भवनको तला भरिए पछि स्वास फेर्न अप्ठेरो हुन थालेपछि आगजनी गर्न आएका युवाहरु भवन छाडेर बाहिर भागे, यसरी भवन आगजनी हुनबाट जोगियो, अरु शाखाको सम्पती पनि जोगाउन सके” ऐरले भन्नुभयो, तोडफोडबाट भने भवनलाई केही क्षति भएपनि नगरपालिकाको सम्पती र अभिलेख जोगाउन सकियो ।

