डिल्लीराज पन्त / कञ्चनपुर : दशैँ नेपालीहरुको महान पर्व हो । घर बाहिर स्वदेश तथा विदेशमा रहेका नेपालीहरु जसोतसो गरेर दशैँ मनाउन घर आउँछन, तर सुदूरपश्चिमका केही नागरिक भने, दशैँकै मुखमा विदेशीन बाध्य भएका छन । गुजारा चलाउनका लागि भन्दै उनीहरु गड्डाचौकी बनबासा नाका भएर दशैँकै मुखमा छिमेकी मुलुक भारत जान बाध्य भएका हुन । स्वदेश(घरमै) बस्दा उता भारतमा रोजगारी गुम्ने भएपछि उनीहरु दशैँ नमनाएरै भारत घर छाड्न बाध्य भएका छन । कोही एकल कोही, सपरिवारसंगै भारत गईरहेका छन । उनीहरुले चुनावका बेला घरमा भोट माग्न आउने नेताहरुले स्वदेशमै रोजगारी दिन्छु भन्दै फुका भाषणबाजी गर्ने अनि चुनाव जितेपछि रोजगारीको त परैको कुरो हो, समान्य काम समेत गर्न कानुनका कुरा सिकाउन थाल्ने गरेको दुखेसो पोखेका छन । गरिबका लागि कोही छैन भन्दै उनीहरु गुजारा चलाउन मातृभूमि मात्रै होईन घर परिवार, नालावाला सहित आफन्त संस्कृति छाडेर विदेशीन बाध्य छन । आइतबार भारत जान लागेका बैतडी दुर्गास्थानका परमल लुहारले सपरिवार भारतमै बस्दै आएको र गौराका लागि १५ दिनको छुट्टीमा आएको बताउँदै, छुटी सकिएपछि दशैँ नमनाएरै उतै मनाउने गरेर फर्किन लागेको बताए ।

‘नेपालमा रोजगारी छैन, बैतडीबाट जितेका मान्छे लामो समय मन्त्री पनि भए, तर उनीहरु जनताको दुख भन्दा आफै कमाउन उद्यत भए, ‘उनले भने, ‘जब गरिबका लागि हामी छौँ भन्दै हिडने नेताहरु चुनाव जितेपछि गाँउ फर्किनन्, रोजगारीका नारा चुनावी एजेण्डामा सीमित बन्यो, कृषि गर्नका लागि पखि प्रर्याप्त खेत छैन, अनि गुजारा चलाउन बाध्य भएर विदेशीएका छौँ ।’ लुहार भारतको मुम्बईमा एक कम्पनीमा काम गर्दै आएका छन । शुक्लाफाँटा १२ कालागौडीका शेरे आउजीले आफु दिल्लीको एक होटलमा काम गर्दै आएको बताए । उनले लालपुर्जा बिहिन जनतालाई पुर्जा दिने हल्लाले घर आएको तर, देशमा जेनजी आन्दोलनले पुर्जा वितरण हुने नहुने ठेगान नभएको यता धेरै बस्दा उता रोजगारी गुम्ने भएपछि परिवारसंग दशैँ नमनाएरै विदेशीन बाध्य भएको बताए । ‘मैले यहाँ दशैँ मनाउन घरमै बसे उता रोजगारी गुम्छ, साहुले अर्को मान्छे राखिदिन्छ, ‘उनले भने, ‘जागिर गए अर्को ठा्रँउमा सितैमा काम पनि पाईदैन, दशैँ मनाउने लोभले मेरो रोजिरोटी नै खोसिले चिन्ताले फर्किदैछु ।’

औजीले पनि चुनावका बेला घरमै पुग्ने नेताहरु चुनाव जितेपछि रोजगारी त परकै कुरा नमस्कार समेत नर्फकाउने दुखेसो पोखेका छन । बैतडीका परमल र कञ्चनपुरका शेरे जस्ता हजारौँ सुदुरपश्चिकै युवा दार्चुलाको खलङगा, बैतडीको झुलाघाट, डडेल्धुराकोे परशुरामपरिगाँउ, कञ्चनपुरको ब्रम्हदेब, गड्डाचौकी, दोधाराचाँदनी, बेलौरी, पुनर्वास, डोकेबजार सहितका खुला नाकाहरुबाट भारत गईरहेका छन । ईलाका प्रहरी कार्यालय गड्डाचौकीको तथ्याङ्क अनुसार १ असोजदेखि ५ सम्म १ हजार १९८ भारतबाट नेपाल आएका र नेपालबाट ९सय ७९ भारत गएका छन । १असोजमा १९९आए, १५५गए, २ असोजमा १९१ आए, १५९गए, ३ असोजमा ३७६आए, २७५गए, ४असोजमा २६९आए, २सय गए, ५ असोजमा २४३आए, १९० गएका छन । पाँच दिनकै अवधिमा पनि भारत जाने भन्दा फर्किने २सय १९ बढी नेपाल आएका छन ।जाने भन्दा आउने १८ प्रतिशत बढी देखिएका छन । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले गड्डाचौकी नाकाबाट दैनिक आउने जाने हाराहारी भएपनि जाने भन्दा आउने बढि रहेकोे बताए ।

