झलारी : शुक्लाफाँटा नगरपालिकामा बनेको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र र सामुदायिक वन बीच भएको सम्झौता कार्यान्वयनका लागि ध्यानाकर्षण पत्र बुझाइएको छ। तीन वर्षअघि भएको सम्झौता कार्यान्वयन नभएपछि सामुदायिक वनले सङ्घर्ष समिति मार्फत ध्यानाकर्षण पत्र बुझाएको हो। सोमबार शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ मा रहेको श्रीकृष्ण सामुदायिक वनका अध्यक्ष अमरबहादुर ऐरको अध्यक्षतामा बसेको सङ्घर्ष समितिको निर्णयले नगरपालिका र वडा नम्बर ११ को कार्यालयलाई सम्झौता कार्यान्वयनका लागि ध्यानाकर्षण पत्र बुझाइएको छ। एसियाली विकास बैंकको सहयोगमा सहरी विकास कार्यालयले शुक्लाफाँटा नगरपालिकाको फोहोर व्यवस्थापनका लागि शुक्लाफाँटाको वडा नम्बर ११ मा रहेको श्रीकृष्ण सामुदायिक वन क्षेत्रभित्र एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण गरेको छ।

नगरपालिका भरिको फोहोरलाई व्यवस्थापन गर्न तीन वर्षअघि निर्माण सुरु भएको फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य सम्पन्न भएको छ। २६ करोड लागतमा निर्माण भएको फोहोर व्यवस्थापन केन्द्रमा दैनिक ६ टन बढी फोहोर व्यवस्थापन गर्न सकिने र २० वर्ष बढी समयसम्म फोहोर व्यवस्थापन गर्ने क्षमता रहेको छ। तीन वर्षअघि स्थानीय पालिकासँग सामुदायिक वनले प्रभावित क्षेत्रका स्थानीयहरूको जीविकोपार्जनसँग सम्बन्धित विभिन्न क्रियाकलापहरू गर्ने लगायतका विविध सम्झौता गरेको थियो। एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्थानीयहरू र सामुदायिक वनले गरेको सहयोग पछि पालिकाले प्रभावित क्षेत्रका स्थानीयहरूका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्ने सहमति भएको तर निकै समय बित्दा पनि कार्यान्वयन नहुँदा सामुदायिक वन र स्थानीय संघर्ष गर्न बाध्य भएको अध्यक्ष तथा संघर्ष समितिका अध्यक्ष अमर बहादुर ऐरले बाताउनु भयो ।

सामुदायिक वनको ७ विगाहा क्षेत्रमा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रले कुहिने/नकुहिने फोहोरमैला व्यवस्थापन तथा फोहोरबाट विभिन्न वस्तु उत्पादन गर्ने लक्ष्य लिएको छ। तत्काल दुई चरणमा भएका सम्झौताहरू कार्यान्वयन नभए चरणबद्ध आन्दोलन गर्ने तयारी भएको सङ्घर्ष समितिका अध्यक्ष ऐरले बताउनुभयो । फोहोरमैला केन्द्रले केही दिनमा नियमित काम सुरु गर्ने तयारी गरिरहेको छ। माग पूरा गराउन सामुदायिक वनका अध्यक्ष ऐरको अध्यक्षतामा पूर्व पदाधिकारीहरू तथा उपभोक्ताहरू सदस्य रहने गरी सङ्घर्ष समिति गठन गरिएको छ।







