वाणी : शुक्लाफाँटा आरक्षको विस्तारसँगै विस्थापित बनेका नागरिकको समस्या अझै समाधान नभएको भन्दै युवा नेता तथा वाईसीएलका केन्द्रीय उपाध्यक्ष नवराज ऐरले न्यायपूर्ण आन्दोलनलाई निरन्तर साथ–समर्थन रहने बताएका छन्। कृष्णपुर नगरपालिकाको बङ्कमा आफ्ना मागहरू राख्दै धर्नामा बसेका पीडितहरूलाई भेट्ने क्रममा सोमबार नेता ऐरले समर्थन जनाएका हुन्। कञ्चनपुर जिल्लाको शुक्लाफाँटा क्षेत्रलाई वन्यजन्तु संरक्षणका लागि २०३२ सालमा आरक्षको रूपमा घोषणा गरिएको थियो। त्यसयता संरक्षण क्षेत्र विस्तारसँगै स्थानीय बस्तीहरू विस्थापित हुँदै आए।

२०५८ सालमा तत्कालीन सरकाले गरेको आरक्ष विस्तारपछि सयौँ परिवार पुर्ख्यौली थलो छाड्न बाध्य बनेका थिए। विस्थापित नागरिकहरू आजसम्म पनि उचित पुनर्वास, क्षतिपूर्ति र सामाजिक सुविधाबाट वञ्चित भई जंगलभित्र असुरक्षित जीवन बिताइरहेका छन्। विगत दुई दशकमा विभिन्न सरकारी आयोग र समितिहरू गठन भए पनि ती सबै प्रतिवेदन केवल कागजमै सीमित भएका छन्। पटकपटक बनेका आयोगलगायतका संयन्त्रहरूले सुरक्षित बसोबास, क्षतिपूर्ति, रोजगारी र शिक्षा–स्वास्थ्य पहुँच सुनिश्चित गर्न सिफारिस गरे पनि कार्यान्वयन हुन सकेको छैन। नेता ऐरले टन्टलापुर घाम र झरीमा समेत आरक्ष पिडितको मागलाई लिएर धर्नामा बसेकालाई खोनेपानी वितरण गरेका छन् । पीडितहरूले बारम्बार माग राख्दा पनि सरकारले घोषणा बाहेक ठोस कदम चालेको अनुभव हुन नसकेको पिडितहरुले बताएका छन् ।

कृष्णपुर नगरपालिका वडा नम्बर २, बंकमा धर्ना बसेका आरक्ष पीडितलाई ऐक्यबद्धता जनाउँदै नेता नवराज ऐरले निर्वाचित जनप्रतिनिधिहरूले पीडितको मुद्दा केवल राजनीतिक स्वार्थका लागि प्रयोग गर्दै आएको आरोप लगाए। उहाँले नीतिनिर्माण तहमा पुगेका नेताहरूले वास्तविक पहल नगरेसम्म समस्या ज्यूँका त्यूँ रहने स्पष्ट चेतावनी दिनुभयो। ऐरका अनुसार विस्थापित नागरिकको माग राज्यले सुनेर नसुनेझै गरिरहेको छ । ‘पिडित पक्ष माग सम्बोधन नभए निरन्तर आन्दोलमा रहन बाध्य हुनेछन्। ‘ उहाँले भन्नुभयो । गठबन्धन सरकारले पीडितको समस्या पूर्णरूपमा समाधान नगरेसम्म आफू र आफ्नो संगठनले न्यायपूर्ण आन्दोलनलाई साथ–समर्थन गरिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।







