कञ्चनपुर : जनताले कमाएको केही रकम सुरक्षित पार्नका लागि बैंकका जम्मा गर्दछन, तर बैंकका कर्मचारी मिलोमतो गरेर जनताको बचत रकम झ्वाम पार्न उद्यत रहेका हुन्छन । महालक्ष्मी विकास बैंक एक शाखाका कर्मचारी मिलोमतो गरेर जनताको बचत रकम झ्वाम पार्न उद्यत रहेको रहस्य खुलेको छ ।
हालै दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित महालक्ष्मी बिकाश बैंक लिमिटेडको शाखाबाट २ करोड बढी रकम हिनामिना गरेको आरोपमा ४ कर्मचारी पक्राउलाई पक्राउ गरिएको छ । बैंकको २ करोड ८४ लाख ७६ हजार ७ सय २ रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालिन शाखा प्रबन्धक सागर शाही, कर्मचारी निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्तलाई पक्राउ गरिएको हो।महालक्ष्मी विकास बैंकको जाहेरी र कागजपत्रका अधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए।

‘गैरकानूनी तरिकाबाट भुक्तानी लिई बैंकलाई हानीनोक्सानी पुगाएको महालक्ष्मी विकास बैंकको जाहेरीका आधारमा उनीहरुलाई साउन २४ गते पक्राउ गरेका हौं,’ उनले भने, उनीहरुबिरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता गरि जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दाहालले बताए। महालक्ष्मी विकास बैंकको रकम अपचलन भएको पाइएपछि बैंकको केन्द्रीय कार्यालयको टोली गत बिहीबार गोकुलेश्वर पुगेको थियो।

बैंक केन्द्रीय कार्यालयको टोलीले गरेको प्रारम्भिक अनुसन्धानबाट कर्मचारीहरुले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको रकम लगाएको पाइएको थियो। मिलोमतोमा रकम अपचलन भएको पाइएपछि बैंकले चारै जना कर्मचारीलाई निलम्बन गरेको छ।उनीहरुले बैंकको मूल खातामा भल्ट रकम मौज्दात देखाएर गैरकानुनी तरिकाले हिनामिना गरेको पाइएको छ। हाल बैंकले हेमराज जोशीलाई शाखा प्रबन्धकको जिम्मेवारी दिएर शाखा सञ्चालन गरिरहेको छ। यसरी जनताको बचत रकम बैंककै कर्मचारीबाट हिनामिना दुरुपयोग गर्न थालेपछि बचतकर्ताको विश्वास समेत गुमाएको छ ।







