जिउँदै मान्छेको मृत्युदर्ता


कञ्चनपुर : कञ्चनपुरमा एक महिलाको उनकै श्रीमानले जिउँदै भएपनि मृत्युदर्ता गरेका छन । जिल्लाको भीमदत्त नगरपालिका ४ गोबरैया महेन्द्रनगरमा दयाराम गिरीले श्रीमती गोमतीदेवी गिरी(नाथ)को मृत्युदर्ता गरेका हुन । दयारामले जेठी श्रीमती गोमतीले भीमदत्त नगरपालिका ४ वडा कार्यालयमा कालगतिमा मरेको भन्दै मृत्यु दर्ता गरेको रहस्य खुलेको छ । प्रेम सम्बन्धमा रहेका दयाराम र गोमतीले ४ पुष ६६ सालमा विहे गरेका थिए । समान्यतया नेपाली समाजमा पुष महिनामा बिवाह हुदैन तर, गोमतीका परिवारले टिकाटालो गरेर छोरीलाई दयारामका सुम्पिदिएका थिए । विवाहको केही समय ठिकठाक चल्यो, दुई सन्तान(छोरा)पनि भए तर, पछि श्रीमान श्रीमतीविच खटपट चल्यो । दयाराम नेपाली सेनामा कार्यरत हुँदा उनी विवाह गरेर डियुटीमा जानुपर्ने बाध्यता थियो । सेनामै हुँदा खरिद गरेको १० धुर जमिन पनि श्रीमतीकै नाममा हालिदिएका थिए ।

श्रीमान शान्ति सेनामा हुँदा श्रीमती गोमती दुई नाबालक छाडेर ३ असार ०७५ सालमा माईती गईन । आफन्तहरुले दयाराम शान्ति सेनामा विदेश भएका बेला गोमती अर्कासंग पोईल गएको आरोप लगाए पनि गोमतीले आफु केही समय माईती घर त्यसपछि मजदुरी गरेको बताउछिन् डिप्रेशन भएको हुनाले औषधी उपचारको लागि पनि कामगर्नु परेको बताउने गिरीले हाल सम्म बिहे नै नगरेको बताउ छिन । उत्ता उनका श्रीमानले श्रीमती घरबाट गएपछि प्रहरीमा समेत खोजतलासका लागि निवेदन दिएका थिए । नाबालक छोरा छाडेर गएको झोकमा दयारामले ५ फागुन ०७६ मै श्रीमतीकोे मृत्यु भएको भन्दै २० फागुन ०७६ सालमा वडा कार्यालयमा गएर जिउँदै मान्छेको मृत्यु दर्ता गराएका हुन । उतिबेला गुरुदेव विक पञ्चाधिकारीले गोमतीको मृत्यु प्रमाणित गर्दै मृत्युदर्ता प्रमाण पत्र उपलब्ध गराएका थिए । जेठी श्रीमतीको नाममा रहेको १० धुर जमिन २२ फागुन ०७६ मा छोरा र आफ्नो नाममा नामसारी गरेका छन । जेठी श्रीमतीले नाबालक छाडेर गएको झोकमा कानुनलाई चुनौती दिर्दै मृत्यु दर्ता गराएका दयारामले पनि दोस्रो विवाह गरेर सन्तान लगेर अहिले भारतमा बस्दै आएका छन ।

श्रीमानले ०७६ सालमा मृत्यु दर्ता गराएको घटना गोमतीले ६ बर्षपछि थाहा पाईन । गोमती गिरी(नाथ)ले आफु केही कामका लागि वडा कार्यालय जाँदा आफुलाई कर्मचारीहरुले तपाई जिउँदै हो, भन्दै प्रश्न गरेपछि छक्क परेको बताईन । ‘म २३ असार ०८२ केही कामका लागि वडा कार्यालय गएको थिए, त्यहाँ मेरो मृत्यु दर्ता गराईसकेको रहेछ, ‘उनले भने, ‘न्यायका लागि वडा, प्रहरी, प्रशासनमा जाँदा एकले अर्कातिर जाँउ भनेर देखाउँछ, मैले कहाँ गएर न्याय पाउने हो, के म जिउँदै मान्छेलाई सरकारले मरेको भन्दै मारिदिन्छन ।’ गोमतीले श्रीमान परस्त्रीसंग सल्केपछि आफुमाथि अन्याय गरेकाले बाध्य भएर घर छाडेको बताईन । ‘मैले उतिबेला मेरै कलिला सन्तानलाई छाडेर गएको बारे पछुतो भईरहेको छ, ‘उनले भने, ‘परिस्थितिले नाबालक छोराहरु छाडेर गएको हुँ, जानी जानी होईन, अब मलाई न्याय चाहिने, त्यो मृत्युदर्ता प्रमाण पत्र खारेजी गरिदिनुप¥यो ।’

जिउँदै मान्छेको मृत्यु भयो भनेर वडा कार्यालयदेखि भीमदत्त नगरपालिका, मालपोत कार्यालय सम्मै कागजात खडा गरेर जमिन नामसारी गरेपछि कतै सेटिङ्गमा यस्तो गैर कानुनी कामकाज भएको त होईन भनेर नागरिकले आशका गरिरहेका छन । तर, दयारामका आफन्तहरुले गोमती घरबाट भागेपछि उनको नाममा रहेको जमिन सन्तानकै लागि बचाउन गरेको हुनसक्ने आँकलन गरिरहेका छन । उक्त घटनामा समाजिक देखि कानुन उलङघन भएको भन्दै घटनाको सबै कोणबाट छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले उतिबेला ०७५ सालतिर दयाराम गिरीले श्रीमती हराएको निवेदन दिए नदिएको बारे प्रहरी अभिलेख हेरिने बताए । भीमदत्त नगरपालिका ४ का वडाध्यक्ष शुशिल भट्टले झुक्याएरै जिउँदै मान्छेको मृत्यु दर्ता गराएको घटनामा बारे छानबिन गरेर मृत्युदर्ता खारेजी हुने बताए ।


ताजा समाचार

spot_img