सुदूरपश्चिमको गौरव : हरियाली सामुदायिक वनलाई राष्ट्रिय पुरस्कार


हेमा भट्ट/कञ्चनपुर – नेपालको ३० हजारभन्दा बढी सामुदायिक वनमध्ये उत्कृष्ट सावित हुँदै कृष्णपुर नगरपालिका–५ स्थित हरियाली सामुदायिक वनले प्रतिष्ठित गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन तथा भू–संरक्षण विभागले देशभरबाट उत्कृष्ट सामुदायिक वनको रूपमा छानिएको हरियाली सामुदायिक वन सुदूरपश्चिम प्रदेशबाट यस वर्षको एक मात्र विजेता भएकोले थप गर्वको विषय बनेको छ।

हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नित्य नन्द जेठाराजले संरक्षण, दिगो उपयोग, पारदर्शिता र सामूहिक सहभागितामा उनीहरूको उत्कृष्ट कामलाई आधार मानेर यो सम्मान प्राप्त भएको जानकारी दिए।

स्थानीय बासिन्दाहरूका अनुसार, २०५० को दशकमा उजाड र सुनसान रहेको जमिनलाई वृक्षारोपण, वन्यजन्तु संरक्षण र दाउरा–घाँसको दिगो उपयोगमार्फत हरियाली वनमा परिणत गर्न सफल भएको यो समूहले सामुदायिक पूर्वाधार निर्माणमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको छ। पुरस्कारले पदाधिकारी, सदस्य, वन कर्मचारी र संरक्षणकर्मीहरूमा नयाँ उत्साह भर्ने बताउँदै अध्यक्ष जेठाराजले भने, “यो पुरस्कार हाम्रो सामुदायिक वन मात्र नभएर सुदूरपश्चिम प्रदेशकै गौरव हो।”

हरियाली सामुदायिक वनको सफल संरक्षण प्रयासले राष्ट्रिय स्तरमा यसको महत्व र योगदानलाई उजागर गरेको छ। यसले अन्य क्षेत्रका सामुदायिक वनहरूका लागि पनि प्रेरणा बन्ने विश्वास व्यक्त गरिएको छ।


ताजा समाचार

spot_img