साहारा नेपालद्वारा किसानसँग भेटघाट तथा वृक्षारोपण अभियान सम्पन्न

कञ्चनपुर :  वातावरण संरक्षणको क्षेत्रमा सक्रिय साहारा नेपालले कञ्चनपुर र कैलाली जिल्लामा वृहत वृक्षारोपण अभियान सञ्चालन गरेको छ। संस्था सन् १९९४ (वि.सं. २०५१) मा पूर्वी नेपाल झापाबाट सुरु भई हाल देशव्यापी रुपमा विस्तार भइरहेको छ।

संस्थाले किसानहरूसँग प्रत्यक्ष भेटघाट गर्दै वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपणको महत्वबारे जानकारी दिएको छ। कार्यक्रमका विशिष्ट अतिथि तथा संस्था निर्देशक युवराज शिवाकोटीले वातावरणीय असन्तुलनका कारण पृथ्वीमा रहेका सम्पूर्ण प्राणी प्रभावित भइरहेकाले समयमै सचेत हुनुपर्नेमा जोड दिए। “हामी सबैले बोटबिरुवा रोप्ने संस्कृतिलाई परम्परागत कृषि भन्दा व्यवसायिक ढंगमा विकास गर्नुपर्छ,” शिवाकोटीले बताए। “यसले वातावरण संरक्षण मात्र होइन, किसानको आम्दानीको स्रोतसमेत बन्न सक्छ।”

कार्यक्रमका प्रमुख अतिथि, दोधारा चाँदनी नगरपालिका–६ का वडा अध्यक्ष ओम बस्नेतले अनुदानको नाममा वास्तविक किसानभन्दा नक्कली किसान लाभान्वित भएकोप्रति चिन्ता व्यक्त गर्दै आधुनिक कृषि अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताए। “कृषिमा संलग्न किसानलाई तालिम र जनचेतना अत्यावश्यक छ,” उनले भने, “अहिले पनि वास्तविक किसान खेतमा छन्, नक्कली किसान भने कार्यालय धाउँदै अनुदान लिइरहेका छन्।”

साहारा नेपालका कृषि विभाग प्रमुख डा. कमलेश कुमार भट्टले गत वर्ष कैलाली र कञ्चनपुरमा ७० हजारभन्दा बढी बोटबिरुवा वितरण गरिएको जानकारी दिँदै यस वर्ष पनि बोट वितरणसँगै रोपाइँ विधिको तालिमसमेत दिने योजना रहेको बताए। कार्यक्रममा साहारा नेपालका फिल्ड वर्कर मुकेश मल्होत्रा, नरी प्रसाद भट्ट, सुपरभाइजर रुपेश केसी लगायत किसानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ताजा समाचार

spot_img