भीमदत्त–बलदेवराम स्मृति दिवस : स्मरण, सम्मान र वृक्षारोपण

झलारी : शुक्लाफाँटा नगरपालिका–११ स्थित बनहरा सिगास शिविरमा शनिवार क्रान्तिकारी किसान नेता भीमदत्त पन्तको ७३ औं स्मृति दिवस तथा दलित भूमिअधिकार अभियन्ता बलदेब रामको स्मृति दिवसलाई भूमि अधिकार दिवसका रुपमा मनाईएको छ । कार्यक्रमको आयोजना राष्ट्रिय भूमि अधिकार मञ्च कञ्चनपुरले गरेको हो । कार्यक्रमका सहभागीहरूले दुबै महान विभूतिको योगदानलाई स्मरण गर्नु भएको छ । फूलमालाले सजाइएका नेता पन्त र अभियन्ता बलदेवरामको तस्बिरमा माला अर्पण गरी कार्यक्रम गरिएको छ ।

मञ्चका अध्यक्ष कर्णबहादुर बानियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश भूमि अधिकार मञ्चकी अध्यक्ष नन्दा जोशी रहनुभयो । विशिष्ट अतिथि प्रदेश सचिव रामबहादुर चुनारा, जिल्ला मञ्च सदस्य मानबहादुर बोहरा, र सिगास गाउँ मञ्चका अध्यक्ष दलबहादुर बोहरासहित थुप्रै भूमि अधिकार अभियन्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुवातमा सहभागीहरूले नेता भीमदत्त पन्त र बलदेब रामको जीवनी वाचन गरी सम्झना गरेका थिए । सुदूरपश्चिमका किसान आन्दोलनका अगुवा भीमदत्तको बलिदानले भूमि र सामाजिक न्यायका सवाललाई राष्ट्रिय मुद्दा बनाएको वक्ताहरूले बताएका थिए ।

“भीमदत्तको सपना अझ अधुरै छ,“ प्रमुख अतिथि जोशीले भनिन्, “भूमिको समान पहुँच र सामाजिक न्याय सुनिश्चित गर्न अझै पनि लड्नु बाँकी छ।“ कार्यक्रमको विशेष आकर्षण बनेको थियो स्मृतिमा गरिएको वृक्षारोपण कार्यक्रम । श्रीकृष्ण सामुदायिक वन क्षेत्र, सिद्धबैजनाथ मन्दिर र कालिका भगवती मन्दिरको थान वरपर लिप्टिस, बेल, बकैना, डालेघाँस, फलफूलका बोटबिरुवाहरू रोपिएका थिए । यी बोटबिरुवा सब डिभिजन वन कार्यालयले निशुल्क उपलब्ध गराएको आयोजकले जानकारी दिएका छन ्। स्मृति दिवसलाई अर्थपूर्ण बनाउन वृक्षारोपणमार्फत वातावरणीय सन्देश समेत प्रवाह गरिएको प्रदेश सचिव चुनाराले बताउनु भयो । “भूमिको रक्षा मात्र होइन, प्रकृति र संस्कृति जोगाउने काममा पनि हामी गम्भीर छौं,“ उहाँले थप्नुभयो। सिगास गाउँ मञ्चका सचिव प्रेमबहादुर साउद र प्रदेश मञ्च सचिव रामबहादुर चुनाराले कार्यक्रम सञ्चालन गरेका थिए ।

ताजा समाचार

spot_img