दोधारा । विपद् जोखिम न्यूनीकरणलाई तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन भीमदत्त नगरपालिकाले आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ लाई अन्तिम रूप दिएको छ। आज भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए, नीड्स, सञ्जिवनी नेपाल र पेसवानलगायत संस्थाहरूको समन्वय र सहकार्यमा नगरपालिकाको आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजनाको अन्तिम मस्यौदामाथि छलफल गरिएको थियो। छलफलमा नगरस्तरमा देखिएका जोखिमका आधारमा सरोकारवालाहरूको सुझाव समेट्दै योजनालाई अन्तिम रूप दिईएको हो।

भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले भीमदत्त नगरपालिका नगरको विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो। उहाँले आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ लाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर नगरवासीलाई विपद्को जोखिमबाट जोगाउन हरसम्भव प्रयास गर्ने भनाई राख्नुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले विगतका अनुभवका आधारमा योजनालाई समयसापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षबीचको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

विपद्को क्षेत्रमा जिल्लामै अग्रणी संस्थाको रूपमा रहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले विगत १० वर्षदेखि जिल्ला तथा पालिकाहरूको आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणमा सहयोगी संस्थाको भूमिका निर्वाह गर्दै आएको छ।
एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजनामा पछिल्लो वर्षमा देखिएको तातो हावाको प्रभावलाई ध्यानमा राख्दै यसपटक उक्त जोखिमसमेत समेटिएको बताउनुभयो। यसअघि तयार गरिएको योजनामा बाढी, डुवान, कटान, आगलागी, मानव–जङ्गली जनावरबीचको द्वन्द्वजस्ता जोखिमहरू समेटिएका थिए। त्यसैगरी, पहिलेदेखि योजनाअन्तर्गत रहेका सात वटा विषयगत क्षेत्रहरू – समन्वय, सूचना व्यवस्थापन, खोज तथा उद्धार, खाद्य, आवास तथा गैर खाद्य, खानेपानी तथा सरसफाई, स्वास्थ्य तथा पोषण, शिक्षा तथा संरक्षण, पुनर्स्थापना तथा पुनर्निर्माणमा यसपटक सुरक्षा तथा संरक्षण क्षेत्र थप गरि आठ वटा विषयगत क्षेत्र बनाईएको छ।
नगर उप-प्रमुख निलम लेखक जोशीको अध्यक्षतामा सम्पन्न छलफलमा जनप्रतिनिधि, विषयगत क्षेत्रका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागी रहेको थियो।
सहभागीहरूले योजनाको सफल कार्यान्वयनका लागि स्थानीय सरकार, साँझेदार संस्था र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताएका थिए।
