पप्पु गुरुङ्ग, दोधारा । महाकाली प्रादेशिक अस्पतालमा सञ्चालित एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सुदृढीकरणका लागि सामग्री हस्तान्तरण गरिएको छ। लैङ्गिक हिंसाविरुद्धको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउन नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साँझेदारीमा सञ्चालित किशोरी समृद्धिका लागि ‘बी फोर जी’ परियोजना अन्तर्गत आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का निमित्त कार्यकारी निर्देशक बिनोद बिक्रम जैरूले महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टलाई सामग्रीहरू हस्तान्तरण गर्नुभयो। हस्तान्तरण गरिएका सामग्रीमा १ थान सोफा सेट, १ थान लो बेड, १ थान स्टिल दराज, १ थान स्ट्यान्ड फ्यान, १ थान एएनसी परिक्षणका लागि प्रयोग हुने फोल्डेबल बेड र १ थान बाकस सहितको काठको बेञ्च गरि रू. ८१ हजार ७ सय बराबरको सामग्री रहेको छ।

सामग्री हस्तान्तरण गर्दै निमित्त कार्यकारी निर्देशक बिनोद बिक्रम जैरुले ओसीएमसी जस्ता संकट व्यवस्थापन केन्द्रहरू सशक्त र प्रभावकारी रुपमा सञ्चालन हुनु अत्यन्त जरूरी रहेको उल्लेख गर्दै, लैङ्गिक हिंसा पीडित महिला, किशोरी र लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई समुचित संरक्षण, सेवा र पुनर्स्थापनाका लागि यस्ता केन्द्रहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले परियोजनाको मूल उद्देश्य पनि किशोरी र महिलामाथिको हिंसालाई न्यून गर्दै सुरक्षित, उत्तरदायी वातावरण निर्माण गर्नु भएकाले, यो सामग्री सहयोगले केन्द्रको सेवा क्षमता अभिवृद्धिमा सहयोग पुर्यातउने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले नेपाल राष्ट्रिय समाज कल्याण संघ र वर्ल्ड भिजनले गरेका यस्ता सहयोगले अस्पताललाई थप उत्साह र ऊर्जा प्रदान गरेको बताउनुभयो। उहाँले ओसीएमसीको सेवा विस्तार र गुणस्तर सुधारमा यस्ता साझेदारीहरूले दीर्घकालीन योगदान गर्ने विश्वास पनि व्यक्त गर्नुभयो।
सामग्री हस्तान्तरण कार्यक्रममा एकद्धार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन भावना शर्मा, नर्सिङ्ग निरीक्षक सुनिता थापा, नेपाल राष्ट्रिय समाज कल्याण संघका परियोजना संयोजक देबराज बडु, ‘बी फोर जी’ परियोजनाकी संयोजक सारिका लगायतक उपस्थिति रहेको थियो।
