दोधारा । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरलाई व्हीलचियर हस्तान्तरण गरेको छ। जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने अपाङ्गता भएका व्यक्तिहरूको सेवा सहजताका लागि एक थान ट्रान्सफरिङ व्हीलचियर प्रदान गरिएको हो।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने अपाङ्गता भएका व्यक्तिहरूलाई सहज र सम्मानजनक सेवा प्रदान गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले एक थान ट्रान्सफरिङ व्हीलचियर हस्तान्तरण गरिएको बताउनुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिहरूको सेवा प्रवाहमा अझ सहजता ल्याउन र उनीहरूको पहुँचलाई सुनिश्चित गर्न यस प्रकारको सहयोग महत्वपूर्ण हुने भनाई राख्नुभयो।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले व्हीलचियर हस्तान्तरण भएपश्चात् अपाङ्गता भएका व्यक्तिहरू सेवा प्राप्त गर्ने वातावरणमा सहज हुने बताउनुभयो।

उहाँले यस अघि एनएनएसडब्ल्यूएले जिल्लाको आपतकालीन कार्य सञ्चालन क्षमता सुदृढीकरणका लागि इनभर्टर र ब्याट्री लगायतका सामग्रीहरू हस्तान्तरण गरेको स्मरण गर्दै निरन्तर सहयोगका लागि धन्यवाद दिनुभयो।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई व्हीलचियर हस्तान्तरण गर्नुभएको हो। व्हीलचियर हस्तान्तरण कार्यक्रममा कञ्चनपुरका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) खड्क बहादुर खत्री लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले शारीरिक पुनर्स्थापना सेवा मार्फत् अपाङ्गता भएका व्यक्तिहरूको लागि सुदूरपश्चिम प्रदेशमा अग्रणी संस्थाको रूपमा काम गर्दै आएको छ।

