झलारी : थारु समुदायका भलमन्सालाई कृष्णपुर नगरपालिकाले तिर्थाटन गर्नका लागि पठाएको छ । नगरपालिकाको आर्थिक सहयोग तथा विश्व हिन्दु परिषद् नेपालको व्यवस्थापनमा ८१ जना भलमन्सा र पधनाहरुलाई चार दिनका लागि तिर्थाटनका लागि पठाएको हो । भारतको उत्तर प्रदेश स्थीत भगवान श्रीरामको जन्म भूमि अयोध्याको धार्मिक भ्रमणका लागि भलमन्सा र पधनाहरुलाई हिजो पठाईएको छ ।

“टोलीमा हिन्दुधर्ममा आस्था राख्ने र क्रिसियन धर्ममा आस्था राख्ने दुई थरीका भलमन्सा र पधना रहेका छन” नगर प्रमुख ओझाले भन्नुभयो, “हिन्दु धर्म मान्नेहरुलाई धार्मिक भ्रमण र हिन्दु धर्म नमान्नेहरुका लागि पर्यटकीय भ्रमणका लागि पठाएका छौं ।” नगर उप प्रमुख द्रोपती रानाको संयोजकत्वमा टोलीलाई पठाईएको उहाँले बताउनु भयो । धार्मिक क्षेत्रको भ्रमणमा गएकाहरुका लागि आउजाउ गर्नका लागि सवारी साधन संगै प्राथमिक उपचार टोलीको व्यवस्था नगरपालिकाले मिलाएको छ । खाने, बस्ने व्यवस्था विश्व हिन्दु परिषद्ले मिलाएको छ । टोलीले अयोध्या संगै त्यसको विचमा पर्ने नजिकका क्षेत्रमा पुगेर भ्रमण गर्ने छ ।

भ्रमण टोलीमा नगर प्रमुख द्रोपती राना, जिल्ला समन्वय समिति कञ्चनपुरका उप प्रमुख रामकुमारी राना, वडा नं ५ का अध्यक्ष टेक पाण्डेय सहभागी रहेका छन । धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण गरी त्यहाँ रहेका असल अभ्यासहरुलाई फर्के पछि अनुसरण गरी समाजलाई सकारात्मक मार्गमा डोरयाउन मद्दत पुग्ने बताईएको छ । स्थानिय तहले आर्थिक व्यवस्थापन गरी भलमन्सार पधनाहरुलाई धार्मिक भ्रमणमा पठाएको पहिलो पटक हो । थारु समुदायको गाउँको संरस्कृति संरक्षण गर्ने, धार्मिक कार्यको आयोजन गर्ने, न्यायनिसाफ छिन्ने, विवाह उमेर पुगेका युवा युवतीको विवाहको चाँजोपाँजो मिलाउने, विकास निर्माणमा जनसहभागीता जुटाउने कार्य भलमन्साले गर्ने गर्दछन । भलमन्सा गाउँको अगुवाई गर्ने व्यक्तिका रुपमा परिचित रहेका छन ।

