गृहमन्त्रीको असफलता: युवा नेताहरू आक्रोशित

कञ्चनपुर – आफ्नै निर्वाचन क्षेत्रकी नाबालिग निर्मला पन्तलाई न्याय दिलाउन नसक्ने, बाढीपहिरोले नागरिक बगाउँदा हराउने, गम्भीर सडक दुर्घटनामा घटनास्थलसम्म पुग्न नसक्ने, र आफ्नै क्षेत्र (दोधराचाँदनी) र शुक्लाफाँटा निकुञ्जको दक्षिणी क्षेत्रको ९०० बिघा जमिनमा भारतीयहरूले भूमि मिच्दा मौन बस्ने गृहमन्त्रीविरुद्ध आक्रोश चुलिएको छ।

यसबाहेक, हालै देशभरि देखिएको राजावादी आन्दोलनको क्रममा गम्भीर धनजनको क्षति हुँदा पनि सुरक्षा संयन्त्र प्रभावकारी बनाउन नसकेको आरोप गृहमन्त्रीमाथि लागेको छ। यसै कारण, उनीविरुद्ध युवा नेताहरू आक्रोशित भएका छन्।

नेकपा माओवादी केन्द्रका युवा नेता नवराज ऐरले गृहमन्त्रीको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। ऐर वाइसीएल नेपालका केन्द्रीय सचिव तथा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य समेत हुन्। उनले गृहमन्त्रीको असक्षमताका कारण देशभर अशान्ति फैलिएको बताउँदै उनको तत्काल राजीनामा माग गरेका छन्।

“निर्मला पन्तको न्यायका लागि अहिलेसम्म ठोस कदम नचाल्ने, बाढीपहिरोले जनजीवन अस्तव्यस्त हुँदा बेखबर बस्ने, भारतीय अतिक्रमणबारे मौन रहने र राजावादीहरूको हिंसात्मक प्रदर्शनमा प्रभावकारी सुरक्षा व्यवस्था गर्न नसक्ने गृहमन्त्री रहनु नै सरकारको असफलताको संकेत हो,” ऐरले भने।

उनको भनाइमा, गृहमन्त्रीको कमजोरीकै कारण हाल देशभर अशान्ति बढेको छ। ऐरले पार्टी नेतृत्वलाई समेत गृहमन्त्रीको भूमिकामाथि पुनर्विचार गर्न आग्रह गरेका छन्।

ताजा समाचार