धनगढीमा पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी कार्यशाला

दोधारा । विपद् न्यूनीकरण गर्नको लागि धनगढीमा पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी कार्यशाला गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम सरकारको आयोजनामा विपद् कार्यमञ्च कार्यशाला कार्यक्रम सँगै आज पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी कार्यशाला गरिएको हो।

कार्यक्रममा मौसम पूर्वानुमानका संयन्त्र, पूर्व सूचना तथ्याङ्क, बाढी पूर्वानुमान, पूर्व सूचना केन्द्र , दैनिक मौसम पूर्वानुमान,३ दिने मौसम पूर्वानुमान र पाक्षिक मौसम पूर्वानुमानको महत्व र प्रभावकारिता सँगै कार्यान्वयनको पाटोबारे छलफल गरिएको थियो।

पूर्वानुमानमा आधारित पूर्व कार्यसम्बन्धी सिकाई आदान-प्रदान कार्यशालामा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री हिरा सार्की , विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेश सभा समाजिक विकास समितिका सभापति धर्मराज पाठक, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव कमलप्रसाद पोखरेल, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरीका प्रमुख, सहस्त्र प्रहरी बलका प्रमुख, विभिन्न स्थानीय तहका प्रमुख , सञ्चारकर्मी लगायत विभिन्न तह र तप्का, संघ संस्थामा आबद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा दोधरा चाँदनी नगरपालिका, परशुराम नगरपालिका, भीमदत्त नगरपालिका र टिकापुर नगरपालिकामा आबद्ध डि. आर .आरका कर्मचारीहरूले पूर्वानुमान सम्बन्धी असल अभ्यास बारे प्रस्तुतिकरण गरेका थिए।

यसैगरी सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले हाम्रो पूर्वानुमान प्राचीनकालदेखि नै चलिआएको देखिन्छ, वर्तमानमा यो आधुनिक मात्रै भएको हो। हामीले पूर्वानुमानमा विश्वास गरेर विपदबाट जोगिनुपर्नेमा जोड दिए। यस्तै सुदूरपश्चिम प्रदेश सभा सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले सुदूरपश्चिम सरकारले पूर्वानुमानका संयन्त्रहरूमा जोड दिँदै जनतालाई कसरी छिटोभन्दा छिटो सुसुचित गर्न सकिन्छ यसमा ध्यान दिनुपर्ने देखिएको बताए। सरकारले पूर्व तयारीमा विशेष पहल गर्नुपर्ने समेत देखिएको औंल्याए।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव कमल प्रसाद पोखरेलले पूर्वानुमान पूर्वकार्यमा स्थानीय, प्रदेश र केन्द्र सरकारको समन्वय हुनुपर्ने देखिएको बताए। साथै सानो-सानो क्षेत्रमा समेत पूर्वानुमान गर्न सकिने प्रविधिहरूको जडानमा विशेष जोड दिनुपर्ने उनको भनाइ रहेको थियो।

कार्यक्रममा टिकापुर नगरपालिकाकी डिआरआर फोकल पर्सन निर्मला चौधरीले पूर्वानुमान पूर्वकार्य सम्बन्धी विभिन्न चुनौती रहेका देखाइन्। स्थानीय तहले पूर्वकार्यमा, सन्देश पठाउने , सायरन बजाउने , साङ्केतिक झण्डा देखाउने लगायतका असल अभ्यास गरे तापनि न्यून स्रोत साधन, जनशक्ति अभाव, लक्षित सहायता कार्यक्रमको अभाव ,स्थानीय स्तरमा सचेतनाको अभाव, कार्यान्वयनमा कमी लगायतका चुनौतीहरू समेत दर्शाइन्।

यस्तै कार्यक्रमको प्राविधिक सहयोगमा जिएसएमए, युकेआइडी, नाक्सा, डिसी.एन.एन.एस.डब्लुए, लगायतको प्राविधिक सहयोग र डिपिनेट नेपालको समन्वय रहेको थियो।

ताजा समाचार

spot_img