कञ्चनपुर : राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीले अन्तर कलेज पुरुष फुटबल प्रतियोगिताको आयोजना गरेको छ । माघ १ गते बाट शुरु भएको फुटबल प्रतियोगिता माघ ६ गते सम्म चल्ने छ । खेलमा ९ टिमले सहभागिता जनाएका छन् जसमा सुदूरपश्चिम विश्वविद्यालयका विभागिय पाँच टिम रहेका छन् भने दोधारा चाँदनीको भानु मा.वि. सार्क एजुकेशन फाउण्डेशन, जनज्योति बहुमुखी क्याम्पस र कैलाली बहुमुखी क्याम्पस रहेका छन् ।

खेल्नमा सहभागी हुनको लागि प्रत्येक टिमबाट रु. १० हजार शुल्क तोकिएको थियो । प्रथम हुने फुटबल टिमलाई रु. ७५ हजार ५ सय ५५ रुपैयाका साथै ट्रफी र प्रमाण पत्र र द्वितिय स्थान हासिल गर्ने टिमलाई रु. ३५ हजार ५ सय ५५ रुपैया, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजक राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका सभापति सञ्चित पन्तले बताए ।

उद्दघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी रहेका पुर्ण बहादुर चन्दले खेलले मानिसलाई अनुशासित र स्वास्थ्य बनाउनुको साथै खेलले राष्ट्रलाई विश्वसामु चिनाउने काम पनि गर्दछ उनले भने‘ ब्राजिल जस्तो सानो देश पनि आज खेलकै माध्यमबाट विश्वले चिन्ने गर्दछ । भोलिको दिनमा यही भूमिबाट विश्व सामु खेल खेल्ने खेलाडी तयार भए हामी सबैलाई गर्व हुने छ।’

आज भएको उद्घाटन समारोहमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटका सभापति सञ्चित पन्तको सभापतित्वमा राप्रपाका केन्द्रीय सह प्रवक्ता पुर्ण बहादुर चन्दको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम मुकेश पन्तले गरेका थिए ।
