झलारी : चौथो राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा शुक्लाफाँटा नगरपालिकाका ५० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । नगर उप प्रमुख कल्पना पन्तले पुरुष जेष्ठ नागरिकलाई टोपी लगाई दिएर र महिला जेष्ठ नागरिकलाई उनको सल ओढाएर सम्मान गर्नु भएको हो । जेष्ठ नागरिकलाई सम्मान कार्यक्रममा बोल्दै उहाँले जेष्ठ नागरिक समाजका गहना भएकाले उहाँको सीप र अनुभवलाई पुस्तान्तरण गर्न आवश्यक रहेको बताउनु भयो ।
जेष्ठ नागरिक जिउदो इतिहास भएकाले उहाँहरुबाट ज्ञानगुनका कुराहरु सिकेर समाजलाई असल मार्गमा डोरयाउने जिम्मा युवा पीढिको काँधमा रहेको बताउनु भयो ।नगर क्षेत्रका व्यवसायीले अल्लो प्रशोधन गरी तानमा बुनेको कपडाको न्यानो टोपी र उनको सलले जेष्ठ नागरिकलाई सम्मान गरिएको नगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख कमला जोशीले बताउनु भयो ।नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टले जेष्ठ नागरिकका अनुभवहरु समाजका लागि आवश्यक भएकाले नयाँ पिढीले त्यसलाई ग्रहण गर्नु पर्ने बताउनु भयो ।
जेष्ठ नागरिकलाई बृद्धाश्रममा पुरयाउने र अलपत्र छाडने लगायतका कार्य हुन थालेको चर्चा गर्नु हुदै उहाँले जेष्ठ नागरिकलाई स–सम्मान बस्ने वातारण कायम गरी पुर्खौ देखि चल्दै आएको असल संस्कारलाई जीवन्त राख्नु पर्ने बताउनु भयो । कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुले नगरपालिकाले गरेको सम्मान कार्यको सह्राना गर्दै जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरी धार्मिक पुस्त वाचन गर्ने, योग, ध्यान गर्ने वातावरण कायम गरिदिनका लागि आग्रह गर्नु भयो । कार्यक्रममा वडा नं १२ का वडा अध्यक्ष नवल सिंह राना, वडा नं ९का वडा अध्यक्ष रमेश बहादुर ऐर, कार्यपालिका सदस्य भुमा चन्द लगायतले मन्तव्य राख्नु भएको थियो ।