खडक ब. कोली /डडेल्धुरा : जिल्लाको अजयमेरु गाउँपालिका ५ नम्बर वडा कार्यालयको आयोजनामा पहिलो पटक ठूलो धनराशि भएको अजयमेरु गाउँपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यही कार्तिक २६ गते सोमबार देखि सुरु हुने भलिबल प्रतियोगिता ५ नम्बर वडा कार्यालयको देवल माध्यमिक विद्यालयको प्राङ्गणमा हुने अजयमेरु गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष राजबहादुर पालले जानकारी दिएका छन् ।
स्थानीय स्तरका खेल प्रतिभाहरूलाई उजागर गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको उत्पादन गर्नका साथै स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले अजयमेरु गाउँपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताका साथै स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति गरिने, स्थानीय नृत्य, हुडकेली नाच, उक्त कार्यक्रममा सुपकै चर्चित देउडा गायक माधव बिष्ट, सावित्री धामी, स्थानीय कलाकार रमेश मल्ल, सुधीर जैरु, धर्मेन्द्र मल्ल लगायतको प्रस्तुति रहने वडा अध्यक्ष पालले जानकारी दिएका छन ।
कार्तिक २६ गतेदेखि शुरु भई ३ दिन सम्म चल्ने प्रतियोगितामा ८ लाख भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको कार्यक्रम व्यवस्थापक नरेश भट्टले बताए । उनले भने गाउँपालिकाले खेलकुदमा ५० हजार मात्र दिने प्रावधान हुन्छ बाँकी खर्च चन्दादाताहरू र वडा कार्यालयहरूले ब्यहोर्ने गरी जुटीरहेको व्यवस्थापक भट्टले बताए । उक्त भलिबल प्रतियोगितामा अजयमेरु गाउँपालिकाका सम्पूर्ण वडाहरू, संघ संस्था क्लबहरू लगायत सम्पूर्ण सरोकारवालाहरूले भाग लिन पाउने छन् । टिम दर्ता मिति २०८१/ ७ महिना २५ गते बेलुका ५ बजेसम्म रहनेछ ।
टिम दर्ता शुल्क २ हजार १ सय रहेको छ भने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५१ हजार १ सय एघार रुपैया र मेडल, प्रमाणपत्र ट्रफी दिइने छ । त्यसैगरी द्वितीय पुरस्कार ३१ हजार १ सय एघार रुपैया र मेडल प्रमाणपत्र ट्रफी र तृतीय पुरस्कार १३ हजार ३ सय ९३ रहेको छ । सान्त्वना पुरस्कार ६ हजार १ सय ११ र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडीलाई १ हजार ५ सय ५५, सर्वोत्कृष्ट स्पाईकरलाई १ हजार १ सय ११, सर्वोत्कृष्ट लिफ्ट १ हजार १ सय ११ र सर्वोत्कृष्ट सेटर १ हजार १ सय ११ रुपैया पुरस्कार घोषणा गरिएको अजयमेरु गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राज बहादुर पालले बताएका छन । प्रशिक्षकमा गाउँपालिकाका खेलकुद प्रशिक्षक ओमप्रकाश पन्त र श्री देवल माध्यमिक विद्यालयका शिक्षक खेम बहादुर पाल रहेका छन् । डागेश्वरी मन्दिरको जाँतलाई लक्षित गरी बनाईएको खेलकुद प्रतियोगिता कारण बस जाँत नहुने भएकोले अध्यक्ष पालले चिन्ता समेत व्यक्त गरेका छन् ।