कञ्चनपुर : कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका वडा नं.५ स्थित श्री जन नमुना मा.वि.रामनगरको लामो समय देखिको शैक्षिक अवलोकन भ्रमण तथा ज्ञानार्जनको कार्यक्रमले २०८१ कार्तिक १ गते देखि सार्थकता पाउने निश्चित भयो तयारीका अनौपचारिक श्रृंखलाहरु विद्यालयबाट दशैंताका देखिनै चलिरहेका थिए । आवश्यक सबै कुराको चाँजोपाँजो पछि कार्तिक १ गते बेलौरी न.पा.का नगर उपप्रमुख जोगराम चौधरीको प्रमुखत्वमा जन नमुनामा.वि.रामनगरको टोली वि.व्य.स. पदाधिकारी, शिक्षक, कर्मचारी,विद्यालयलाई प्रमुख योगदानकर्ता सामुदायिक वनका पदाधिकारी सहित दिउँसो ३ बजे डोकेबजार बेलौरीको हुलाकी राजमार्ग हुदै पुर्वी नेपालका लागि अगाढी बढ्योैं सु.प.प्र.१३५६ नम्बरको बसमा । शिक्षा,युवातथा खेलकुदशाखा नि.प्रमुख अमित प्रसाद भट्ट,वि.व्य.स. अध्यक्ष अमर सिंह चौधरी,प्र.अ.शिवलाल चौधरीको व्यवस्थापनमा अघी बढेको अवलोकन भ्रमण टोलीले आफ्नो अवलोकनको प्रथम केन्द्र पुर्र्वी नेपालको ईलाम जिल्लाको सुर्योदय न.पा.को कन्याममा रहेको चियाबगान बनाएको थियो । बाटाबाट समेत केही सहभागी थप गरि गाडीले महेन्द्र राजमार्गमा हुइकिन सुरु गरेको केहि समय कैलाली जिल्लाको घोडाघोडी तालआसपासमै रातीको अध्यारो हुन सुरु भइ सकेको थियो । भ्रमण टोलीका सदस्यहरुको भोकको अल्पनिवारणका लागि बर्दियाको भुरिगाउँमा केहि बिस्कुट र मिठो किनि सोलाई ग्रहण गरि यात्रा अगाडी बढिरहेको थियो । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका स्थित ढकेरीको प्रकृति होटलमा रात्रीको उर्जारुपी भोजन ग्रहण गरि टोली गन्तव्यका लागि अगाडी बढि रहेको थियो । रातभरिको यात्रा पछि कार्तिक २ गते हामीले नवलपरासी बर्दघाट सुस्तापश्चिमको सुरुवातमै उज्यालो भेट्टाइ सकेका थियौं । महेन्द्र राजमार्गको बुटबल नारायणगढ खण्ड अतिनै टिठ लाग्दो रहेछ । अतिनै समय लाग्ने, पुरै धुलो धुवाँ । गण्डकी प्रदेशको नवलपुर जिल्लाको मध्यविन्दु न.पा. स्थित भण्डारी होटलमा रिफ्रेससितै चिया नास्ता ग्रहण गरि हामी यात्रामा अघि बढि रह्यौं ।
प्रभातकालिन समयमा चितवनजिल्लाका विभिन्न पालिका छिचौल्दै हामीले मकवानपुर मनहरीहुदै हेटौडा उपमहानगरपालिका १९ को माउण्ट दिव्य ज्योति भोजनालय बस्तीपुरमा दिनको खाना लियौं । खानापश्चात गाडीको मर्मत संगै हामीले महेन्द्र राजमार्गमा हाम्रो यात्रालाई निरन्तरता दिइ राख्यौं । मधेश प्रदेशको सिराहा जिल्ला मिर्चया नगरपालिका स्थित श्रीराम होटलमा बेलुका ५ बजेतिर चिया नास्ता ग्रहण गरि पुन ः ईलामतर्फको गन्तव्यमा हानियौं । विहारको दुःख संज्ञाले चिनिने कोशी पुल नपुग्दै रातिको अध्यारो भइ सकेको थियो । रातिको करिब ९ बजे तिर सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका वडा नं. ५ पचरुखी स्थित स्थित होटल मदानीमा पुगी खानासंगै रात्रीविश्राम लियौं । ३ गते कार्तिक बिहानै नित्यकर्म पश्चात हामी बिहान करिब ६ बजे तिर ईलामका लागि हुइकियौं । मोरङ जिल्लाको सुन्दरहरैचा न.पा.मा चियापानपश्चात हामी झापाको चारआलीहुदै अगाडी बढ्यौं । करिब २ घण्टाको अन्तरालमा हामी पहाडी चिसो छिचोल्दै ईलामको रोङ गाउँपालिकाको हर्कटे हुदै सुर्योदय न.पा.स्थित कन्याम चियाबगान क्षेत्रमा पुग्यौं । चिसो हुने ठाउँ रहेछ ,कन्याम । व्यवस्थित तवरले काँटछाट गरि सजाएर बनाइएका चियाका लस्करै बगानहरु,बढो आकर्षक रहेछन । चोकको पारिपट्टि अग्लो ठाउँमा नेपालको ठुलो झण्डा सजाएर राखिएको रहेछ,सौन्दर्यता र फोटो समेतका लागि । अग्लो डाँडाबाट पुरै फाँटहरु देखिदा रहेछन ईलाम क्षेत्रका,बढो आकर्षक । हामीले व्यक्तिगत र समुहगत रुपमा फोटा खिची जानुका होटल कन्याममा दिउँसोको खानाखाइ कन्याम लेखिएको ठाउँमा सेल्फी लिइ मौलिक पहिरनमा सजिएका हाम्रै टोलीका महिलामित्रहरु सित समेत फोटो क्लिक गरि कन्यामको कोशेलीको रुपमा छुर्पी,टफी र पहिरनका केही सामग्री किनि फिक्कल बजारबाट ओरालो पशुपतिनगर तर्फ लाग्यौं । नेपाल भारत सिमानाको नेपाली बजार पशुपतिनगर क्षेत्रमा हाम्रो यात्राको नेपाली बसलाई बसपार्कमा राखी हामी न्यु पोइन्ट गेष्ट हाउसमा चिया बिस्कुट खाइ दार्जिलिंगका लागि ४ वटा टाटा सुमो जिप बुक गरि अगाडी बढ्यौं ।
चेकजाँचको आवश्यक प्रक्रिया पुरा गरि भा.रु.सटही गरि हामी भारतको पश्चिम बंगाल राज्यको दार्जिंलिंग बजारका लागि अगाडी बढ्यौं । चिसो समेत भएकाले यात्रा प्रारम्भ गर्दानै रात्रीकालिन प्रहर सुरु भइ सकेको थियो । जिपहरु चल्ने साघुँरो प्रकृतिको बाटोमा नयाँ ठाउँको मज्जाले आनन्द ग्रहण गर्दै अगाढी बढि रह्यौं ,नगर उपप्रमुख वि.व्य.स अध्यक्ष, प्र.अ., सामुदायिक वन अध्यक्ष, म र केहि शिक्षकहरु एउटा जिपमा थियौं । समसामयिक विभिन्न विषयमा कुराकानी गर्दै हामी सिमानाबजार सुखिया ताल हुदै दार्जिलिंग बजार क्षेत्रमा रहेको दार्जिलिंग गेष्ट हाउसमा राति करिब ८ बजेतिर पुग्यौं । तलैतलायुक्त गेष्ट हाउसको ग्राउण्ड पm्लोरका रुमहरु हाम्रो ३५ सदस्यीय टोलीलाई दिए पछि हामी तिनै रुममा अनुकुलता मिलाएर रात्रींविश्रामका लागि तयार भयौं । ग्राउण्ड पm्लोरको माथि पट्टीको तलामा रहेको डायनिंग हलमा खाना खाइ हामी अलिक बेर नजिकैको बजार घुमि तथा केहि साथीहरुले गेष्टहाउसमै बेच्नआएका मानिसहरुबाट लुगातथा सउलहरु किनि चिसो परिवेशमा निन्द्रादेवीतर्फ प्रस्थान भयौं । ४ गते बिहानै नित्यकर्म पश्चात चिया नास्ता लिइ हामी रिजर्व जिपमा दार्जिलिंगको चियाबगान हेर्न गयौं । त्यहाँ चियाफाँट धेरै ठुला नभएनि मानिस आकर्षण गर्ने कला चाहिँ अद्भुत रहेछ । हुस्सु हुस्सुले भरिएका ठाउँ एकछिन हावाले मत्थर भएपछि हामीले दार्जिलिंगको पहाडी परिवेश अवलोकन गरि निःशुल्क चिया खाइ सशुल्क चियापत्ती किनि रक हिलतर्फ प्रस्थान गर्यौं । तेन्जिंग नोर्गे शेर्पाले पर्वतारोहणको प्रयास गरेको ठाउँ रहेछ त्यो । ततपश्तचात हामी मुल सडकभन्दा अलिउचाइमा रहेको पद्मजा नायडु हिमालयन जुलोजिकलपार्कमा गयौं । बाघ लगायतका विभिन्न जनावरसित प्रत्यक्ष साक्षत्कार गरि पर्वतारोहणका विभिन्न सामग्री अवलोकनगरि एवं सैद्धान्तिक ज्ञानलिई अगाडी बढ्यौं । नेपालका विभिन्न विषयवस्तु देख्न पाउदा एवं त्यताका प्रायःमानिसको बोलिचालिको भाषा नेपाली सुन्दा आफ्नै देश नेपालमै भएको अनुभुतिभइरहेको हुन्थ्यो । किताबमा पढेको पुर्व टिष्टा र पश्चिम काँगडाको सिमानासम्म नेपाल फैलिएको गर्विलो इतिहास सम्झिदा मन न्यास्रो भएरनि आउथ्यो ।
फैलावट नभइ खुम्चिनुको पिडा दुःखदायी हुदो रहेछ । जुलोजिकलपार्कमा लेखिएको आजको विचार बढो हृदयस्पर्शी थियो । कोइ इतना अमिर नर्ही के अपना गुजरा हुआ वक्त खरिद सके और कोई इतना गरिब नहीं के अपना आनेवाला वक्त नाबदल सके । भाषिक रुपान्तरण नेपालीमागर्दा ,कोइ मानिस यति धनी पनि छैन कि उसले आफ्नो बितेको समय किन्न सकोस र कोहि मानिस यति गरिब नि छैनकि उस्ले आफ्नो आउने समय नबदल्न सकोस । मनमा छुट्टै उर्जा आउने यस प्रकारका विचारका रसास्वादन गरि हामी पुनः गेष्ट हाउस तर्फ लाग्यौं । खानाखाइ चेक आउट भयौं । बाटामा रहेको बासे वार मेमारियलको आइ लव दार्जिलिंग लेखिएको पार्कमा गइ पर्वतारोहण स्तम्भवरिपरिको चुकचुके (बजार परिवेशमा पर्यटक घुमाउने कोइलाबाट चल्ने)रेल हेरि फोटा खिचि त्यहाँबाट अगाडी बढ्यौं,गन्तव्य पशुपतिनगरका लागि । बाटामा रहेको गुम्बालाई बाहिरैबाट हेरि सुखिया ताल हुदै सिमाना बजारमा चिया खाइ केहि खाद्य तथा पहिरनका सामान किनि पशुपतिनगर चेकपोष्ट नजिक जिपबाट झरि वारीपट्टि रहेको रिजर्व बसमा बसि गन्तव्य ईटहरीका लागि अगाडी बढ्ने योजना बनार्यौ । पशुपतिनगरमै रहेको पशु क्वारेन्टाइन चेक पोष्ट समेत अवलोकन गरि नेपाली गीतमा रमाइलो गर्दै फिक्कल हुदै कन्याम पुग्यौं । छुर्पी,चक्लेट र अरु चिनारीको सामान किन्न बाँकि व्यक्तिहरुले किनमेल गरि हामी इलामको पहाडलाई बिट मारी झापाको बुद्धशान्ति गा.पा. पुग्यौं । भिरालो बाटो बाट ओरालो तर्फ आएको गाडीलाई केही आराम दिइ भोलीपल्टको दिनको योजना बनाइ हामी चारआली हुदै अगाडी बढ्यौं । बिर्तामोड कटेसि आउने ठाउँ चारपानेमा गाडीले टायर फेरेसी हामी पुनःअगाडी बढ्यौं,बाटामा हात्तीसँग प्रत्यक्ष साक्षात्कार गर्दै,गाउदै र नाच्दै बाह्रकुने ताल,परबटिया बिगडगैल आदि आदि गितमा ।
ईटहरी पचरुखीको मदानी होटलमा रातिको करिब ९ः३० मा पुगेसि रिफ्रेस पश्चात खाना खाइ निन्द्र्राका लागि तयार भइरहदा भोलिपल्टको दिनमा हुने नगर उपप्रमुख सरको जन्मदिवसको शुभकामना दिन शुभेच्छक आइरहदा क्रमभंग भइ रहेको थियो । करिब १२ः१५ माभएको सुताइ ५ गते बिहान ५ बजे टुंगी सकेको थियो । प्रभातकालिन नित्यकर्म पश्चात हामी झोला तथा सामान होटलमै छोडी गाडीको अस्थायी चलान ईजाजत बनाइ धरान क्षेत्रका धार्मिक स्थलको अवलोकन गर्न तरहरा हुदै अगाडी बढ्यौं । किताबमा पढेको तर प्रत्यक्ष साक्षात्कार गर्न नपाएको बुढासुब्बाको मन्दिर दर्शन गर्यौं । मनवाञ्छित फल प्राप्त हुन सकोस भनि रंगीन सानो डोरी बाध्ने चलन रहेछ त्यता । कुखुराको बली दिने चलन समेत रहेछ बुढासुब्बामा जुन त्यति मज्जाको लागेन मलाईं । हामीले पनि प्रेमपुर्ण दर्शन गरि डोरी बाँधी व्यक्तिगत र सामुहिक तस्बिर क्यामरा र मोबाइलमा कैद गरि बस स्टेण्ड नजिकको विदिशा खाजा घर पुग्यौं । त्यहा अलिक थकाइ मेटि चिया खाइ दन्तकाली मन्दिरको दर्शन गर्न गयौं । त्यहाँ खनाल थरका व्यक्ति पुजारी हुने चलन रहेछ । मन्दिर छेउमै बेच्न राखेका शंखलाई परीक्षणका रुपमा बजाइ सामुहिक/व्यक्तिगत फोटो लिइ पिण्डेश्वरधाम तर्फ प्रस्थान गर्यौं । त्यहाँ सुरुमा गणेश मन्दिर दर्शन गरि हामी नागरुपी शिवको दर्शन गरि फोटो लिइ केरा प्रसाद लिइ दशैंरे पिङको दृश्यानन्द लिइ अटोमा चढी बुढा सुब्बा मन्दिर नजिकको विदिशा खाजा घरमा पुग्यौं । त्यहाँ खाना हामी विराटनगरको आदर्श मा.वि.तर्फ प्रस्थान गर्यौ । जिल्ला प्रशासन कार्यालय मोरङ र हुलाक निर्देशनालय नजिकै रहेछ आदर्श मा.वि.। वि.सं.१९८४ मा आदर्श भावनाका साथ खुलेको आदर्श विद्यालय केही समय भारतमा सञ्चालन भएको रहेछ । पछि समयानुकुलतामा विभिन्न कठिनाइ पार गर्दै अगाडी बढेको आदर्श विद्यालय सत्चरित्र निर्माण गराउने पवित्र भावना बोकेको संस्था रहेछ भन्ने भान भयो ।
दशैं तिहारको विद्यालय पठनपाठन बिदा रहको समयमा पनि विद्यालय परिवारबाट गरिएको प्रेमिल स्वागत उत्कृष्ट थियो । विद्यालयका स.प्र.अ.ईन्द्र बहादुर चौहान सरबाट विद्यालयका सबै पक्षका बारे जानकारी लियौं । सरकारी श्रोत भन्दा निजी (विद्यालय) श्रोतबाट तलब खाने शिक्षकको व्यवस्थापनमा चलेको विद्यालयमा प्राविधिक धारलाई महत्वका साथ अगि बढाइएको रहेछ । नतिजा विश्लेषण र विषयगत शिक्षक समुह अन्तरक्रियालाई बढि महत्व दिइ चलेको विद्यालयमा गरिबीको अवस्थाधारमा विद्यार्थीलाई छात्रवृत्ति र अभिभावक सहयोग समेत लिने गरिदो रहेछ । पालिका लगायत सरकारी÷गैरसरकारी निकायबाट आर्थिक लगायतको सहयोग हुने गरेको विद्यालयमा विशेष शिक्षाका कक्षा समेत सञ्चालित रहेछन । कोशी प्रदेशका पहाडी जिल्ला भन्दा पनि मधेश प्रदेशबाट पढ्न आउने विद्यार्थी बढि रहेको आदर्श मा.वि.मा । सबै शिक्षक कर्मचारी आफ्नो जिम्मेवारी प्रति अतिनै जिम्मेवार रहेको आदर्श मा.वि.मा अतिथी देवो भवःको नारालाई व्यवहारतः आत्मसात गरेको पाइयो,हामीलाई देखाइएको सत्कारबाट । कृष्ण चौधरी,टिकानारायण चौधरी लगायत विभिन्न शिक्षक,कर्मचारीको शैक्षिक,व्यवस्थापकीय पाटाका प्रश्नको जवाफ मज्जाले दिइरहनु भएको थियो,ईन्द्र ब.चौहान सरले । संघीय सरकारको नमुना कार्यक्रममा नपरेपनि नमुनाका रुपमा रहेको आदर्श मा.वि.को समग्र सुसाशन, अभ्यासको पाटोलाई मानसपटलमा भण्डार गर्दै सामुहिक तस्बिरका साथ बिदा भइ हामी ईटहरी उपमहानगरपालिका मेन चौराह हस्पिटल चौक नजिकको जनता मा.वि.मा पुग्यौं, करिब ५ बजेको समयमा । ईटहरी क्षेत्रकै नमुना विद्यालय रहेछ जनता मा.वि.,संघीय सरकारको नमुना विद्यालय कार्यक्रम सञ्चालन भएको । दुईवटा ब्लकमा सञ्चालित विद्यालयमा पनि थुप्रै असल अभ्यास, उत्कृष्ट कार्यशैलीबारे जान्ने सुअवसर विद्यालयका प्र.अ.पशुपति सिग्देल र वि.व्य.स.अध्यक्ष काशीनाथ दंगालबाट प्राप्त भयो ।
बर्खे बिदा करिब १ साता गर्ने र शिक्षकलाई १४ महिना(थप १ महिना)को तलब दिने, विद्यालयमा कार्यरत शिक्षक , कर्मचारीका छोराछोरीले अनिवार्य रुपमा आफु कार्यरत विद्यालयमा पढाउनै पर्ने, योग्य शिक्षक भित्रयाउन योग्यता र कार्यशैली मापनको पाटोलाई व्यवहारमा उतारिएको,अतिरिक्त र सहक्रियाकलापमा विद्यार्थीलाई सदैव सरिक गराइ रहने खालका विभिन्न आकर्षक विषयवस्तुलाई ग्रहण गरि विद्यालयका प्र.अ.,वि.व्य.स अध्यक्ष सहित नगर उपप्रमुख जोगराम चौधरीबाट नगर क्षेत्रका विभिन्न शैक्षिक अभ्यास बारेको मन्तव्य र केही शिक्षक कर्मचारीको जिज्ञासात्मक प्रश्नोत्तरको क्रम सकिएपछि हामी सामुहिक फोटोपश्चात झोला र सामान राखेको होटल मदानीका लागि प्रस्थान भयौं । बाटामा चिया नास्ता लिइ भावी गन्तव्य(जाने ठाउँ)का विषयमा गहिरो छलफल गरि हामी सुनसरीको बराहक्षेत्र नगरपालिका स्थित बराहक्षेत्र धामको दर्शन गरि अगाडी बढ्ने योजनामा पुग्यौं । सोहीबमोजिम हामी कान्छी चोकबाट रामधुनी नगरपालिका हुदै बराह क्षेत्र न.पा प्रवेश गर्दा बाटामा रहेको जंगलको भागमा केही हात्ती देख्ने अवसर समेत प्राप्त भयो । झण्डा चौकमा रहको सरोवर होटलमा रात्रीबास बस्यौं र नगर उपप्रमुख जोगराम चौधरी सरको जन्म दिन पनि त्यहीँ शुभकामना आदानप्रदान गरि सामान्यतयामा मनायौं । कार्तिक ६ गते बिहानै हामी नित्यकर्म पश्चात बराहक्षेत्र धामको दर्शनका लागि गर्यौ । कोशी पुल बाट बराह क्षेत्रमा ठुला गाडी जान्न नमिल्ने अवस्था रहेछ । पानीको दलदल र पहिरोले बाटो बिगारेको रहेछ । उदयपुर र सुनसरी जोड्ने कोशी पुल छेउबाट हामी अटोमा चढी बराहक्षेत्र पुग्यौं । कैलालीको गोदावरी जस्तै नदी छेउको तिर्थ रहेछ । कोशी नदिको छेउमा बराह क्षेत्र,बढा पावन र आनन्ददायी क्षेत्र । भगवान विष्णुका विभिन्न अवतार नरसिंह,कुर्म जस्तै बराह पनि अवतारको क्षेत्र रहेछ । अवलोकन र दर्शनका लागि थुप्रै भक्तजन आउँदा रहेछन । हामीले पनि कौशिक(कोशी) नदिको पावन जल शरीरमा हाली प्राथना गरि मन्दिर दर्शनसंगै क्यामेरामा आफुलाई भण्डार गरि पुनः गाडी रोकिएको स्थानमा अटो चढी पुग्यौं ।
कोशी पुलको पारीपट्टि उदयपुर जिल्लाको बेलका नगरपालिका र ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको कार्यक्षेत्र पर्दो रहेछ । कोशी पुल तरी हामी उदयपुरको सिमाना पनि पुगेर आयौं । नदिको सतह भन्दा धेरै उचाईमा बनेको कोशी पुलको समुद्घाटन वि.सं.२०७२ सालमा तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाले गर्नु भएको रहेछ । सो पश्चात हामी रिजर्व बसमा चढी बाहिरबाटै चतराधामको दर्शन गरि अगाढी बढि कान्छी चोकबाट महेन्द्र राजमार्ग प्रवेश गर्यों । झुम्का भन्ने ठाउँमा चियानास्ता खाइ अगाडी बढि कोशी पुल पुगेर केही बेर रोकियौं ,पुलको अवलोकनका निम्ति । कोही सहभागीलेत १ किमि भन्दा लामो पुलको यात्रा हिनेरै गर्नु भयो । बिहारको दुःखका नामले चिनिएपनि कोशी नदि नेपालको पनि दुःखका रुपमा रहेको आभास भयो । सुनसरीको कोशी गा.पा. र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका धेरै क्षेत्र कोशीको पानीको सिमसिम पनाले कामै नलाग्ने गरि दलदलमा परिणत भएका छन । साथै नेपालमा अवस्थित कोशी नदिको कन्र्टोलका लागि भारतीय पक्षको उपस्थिती पनि कता कता सन्तोषको अनुभुति भएन । हामी कोशी नदिसंग बिदा मागी मधेश प्रदेशको सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका स्थित न्यु नेश्नल लाईन होटलमा दिउँसोको खाना खाइ टिकमगढकी महारानी वृषभानुकुमारी सित सम्बन्धीत धनुषा जिल्लाको जनकपुरधाम उपमनपामा अवस्थित जानकी (नौलाखा) मन्दिरका लागि रमाना भयौं । करिब ४।५ घण्टाको यात्रापछि हामी सप्तरीपछि सिराहा हुदै धनुषाको ढल्केवरबाट भित्र प्रवेश गरि जानकी मन्दिरका लागि अगाडी बड्यौं । धनुषको चिन्ह सहितका चोक रहेछन ,जानकी मन्दिर जाने बाटोमा । बसलाई पार्किंग क्षेत्रमा खडा गरि हामी पैदल रुपमा मन्दिर तर्फ प्रस्थान गयौं । छठपर्व पनि आउदै गरेकाले त्यसको तयारी समेत मिथिला क्षेत्रमा सुरु भइ सकेको थिायो । मन्दिर आसपासका क्षेत्रमा थुप्रै सरोवरहरु थिए । हामीले नेपालको ऐतिहासिक जानकीमाताको मन्दिरमा माता जानकीको दर्शनानुभव गरि सामुहिक र व्यक्तिगत फोटो लिइ बस भएको ठाउँका लागि अगि बढ्यौं ।
चहलपहलल मज्जाको हुदोरहेछ, जनकपुर क्षेत्रमा, मन्दिर परिसरमा आकर्षक लाइटिंगको व्यवस्था सहितको ठुलो प्लास्टर गरिएको खुल्ला क्षेत्र । बोलीचालीको भाषा मैथिली, ताल सरोवर क्षेत्रमा अलिक फोहोर, छुट्टै अनुभुतीलाई ग्रहण गरि हामी आपसी सल्लाहमा बर्दिबासमा बास बस्ने हेतुले अगाडी बढ्यौं । जनकपुर क्षेत्रमै रात्रीले आफ्नो प्रभाव जनाइ सकेको थियो । ढल्कवरेबाट करिब २१ कि.मिको दुरीमा रहेको बर्दिबास बजार पुगी जनता होटलमा बास बसी हामी कार्तिक ७ गते बिहान महोत्तरी जिल्ला बर्दिबास न.पा.३ गौरीडाँडा स्थित श्री जनता मा.वि.को अवलोकन तथा ज्ञानार्जनका लागि निस्कीयौं । बर्दिबास काठमाण्डौंको वि.पी राजमार्ग नजिकै अवस्थित जनता मा.विमा पुग्दा वि.व्य.स.अध्यक्ष राजन प्रसाद ढुंगाना सरबाट न्यानो आतिथ्यता प्राप्त भयो । प्राविधिक धारका कार्यक्रम (कृषि र पशु विज्ञान) समेत सञ्चालित जनता मा.वि.को सम्पुर्णतामा एक विद्यालय भन्ने आदर्श वाक्य रहेछ । हामीले जनता मा.वि.का विभिन्न ल्याब,लाइब्रेरी,बाल विकास कक्षा, स्वमिंग सिकाउने कक्ष लगायतको अवलोकन गरि अन्तरक्रियाका लागि हलमा प्रवेश गर्यौं । विद्यालयका भित्तामा लेखिएका आदर्श वाक्यहरु हर्ट टचिंग थिए । सबैभन्दा ठुलो अधिकार त्यस अवस्थामा श्रृजना हुन्छ ,जहाँ सेवा भाव र त्याग हुन्छ । यो भनाइले सार्है हृदयस्पर्शी लागि रहेको थियो । अन्तरक्रिया कार्यक्रमको सञ्चालन विद्यालयमा प्र.अ. रामसकल महतो(माध्यमिक स्थायी शिक्षक,विज्ञान विषय)ले गर्नु भयो । आसन ग्रहण पश्चात खाँदा टिकासितै विद्यालयको परिचय प्र.अ.सरले प्रस्तुत गर्नु भया । करिब १० वर्षको अन्तरालमा विद्यालयले तरक्की गरेको रहेछ । भवन लगायत पुर्वाधार र गुणस्तरका क्षेत्रमा । नीतिका लागि वि.व्य.स.र सोको कार्यान्वयनका लागि प्र.अ.को महत्वपुर्ण भुमिका हुने विषय समेत चर्चा भयो ।
अभिभावकसितको साक्षात्कार र सम्बन्ध अभिवृद्धिका लागि विद्यालयले समुदाय विद्यालय संयोजक भनेर एक जना शिक्षक नेत्र बहादुर रम्तेल सरलाईनै जिम्मेवारी दिएको पक्षपनि अनुकरणीय लाग्यो । हरित विद्यालयको अवधारणा कार्यान्वयनका लागि सिस्टमेटिक तवरले विरुवा रोपणको कार्य भएको विद्यालय संघीय सरकारको नमुना विद्यालय कार्यक्रम कार्यान्वयन भएको विद्यालय समेत रहेछ । अभिभावक जुन कुराबाट सहयोग गर्न सक्छन त्यही कुरा उनीहरुबाट लिनु पर्छ भन्ने अवधारणाको कार्यान्वयन जनता मा.वि.मा भएको रहेछ । सिकर्मी अभिभावकको सिप,डकर्मी अभिभावकको सिप लगायत जुन अभिभावकसित जे सिपछ त्यसलाई हामीले विद्यालयमा प्रयोग गर्न सक्यौं भने पक्कै पनि विद्यालयलाई अगाडी बढाउन सक्छौं भन्ने आकर्षक तरिकाको प्रयोग विद्यालयले गरेको पाइयो । विद्यालय भनेको किताब पढाउने ठाउँ मात्र नभएर विद्यार्थीको सर्वांगीण विकास गरि पुर्ण मानव बनाउन आवश्यक प्लेटफर्म प्रदान गर्ने ठाउ ँहो भन्ने कुरालाई व्यवहारमा उतारेको पाइयो बर्दिबासको जनता मा.वि.मा । विद्यार्थीहरुलाई बिउपुँजीको रुपमा १० हजार निःशुल्क दिने र त्यसबाट विद्यालयकै जमिनमा कृषि लगायत उत्पादनको कार्य गर्न लगाइदो रहेछ । प्राप्त आम्दानीलाई विद्यालयले दैनिक जिवनयापनमा प्रयोग गर्न पाउने व्यवस्थाले मिलाएको रहेछ । विद्यालयले आफैले निर्माण गरेको शैक्षिक कार्यपात्रोलाई हुबहु परिपालना गरिने व्यहोरा वि.व्य.स. अध्यक्षले प्रष्ट्याइ रहनु भएको थियो । विगतमा सोही वडाको वडाध्यक्ष समेत रहेका वि.व्य.स.अध्यक्ष ढुंगाना सरले विद्यालयको विकासमा पारदर्शिता र सेवा भावलाई केन्द्रमा राखेर अगाडी बढ्दा कुरा काट्नेहरु पनि पछि समर्थक स्वतः हुने कुरा बताउनु भयो । बेलौरी न.पा.का शिक्षा क्षेत्रका असल अभ्यासका कुरा म स्वयम्ले राखिसकेपछि सहभागीहरुको केही जिज्ञासाको समाधानसंगै प्र.अ. र वि.व्य.स. अध्यक्ष अमर सिंह चौधरीसरको मन्तव्य पश्चात कार्यक्रमका प्रमुख अतिथी नगर उपप्रमुख जोेगराम चौधरी सरले पालिकाका विभिन्न विषयवस्तु समावेश गरि महत्वपुर्ण मन्तव्य राख्नु भयो भने समापनमा जनता मा.वि.का वि.व्य.स.अध्यक्ष राजन प्रसाद ढुंगाना सरले अभिभावक सहयोगका रुपमा विद्यार्थीबाट केही सहयोग लिने कुरा विद्यालयले लागु गरेको लगायत विद्यालयका विविध पक्षबारे प्रकाश पार्नु भएको थियो ।
केही समय अगाडी विद्यालयले स्थापनाको स्वर्ण महोत्सव तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहालको प्रमुख आतित्थ्यतामा मनाएको र शैक्षिक सुधारका निम्ति सरोकारवालाको अन्तरक्रिया समेत गरेको व्यहोरा अवगत गरि हामी नजिकैको आधारशिला संस्था हेर्न गयौं । कम्युनिष्टहरुले आफ्नो सम्पुर्ण जायजेथा सरकारीकरण गरी सामुहिक रुपमा बस्दै आएको ठाउँ रहेछ,आधारशिला क्षेत्र,त्यहाँ पनि सम्बन्धित जानकारी लिइ ,फोटा लिइ बाटैबाट जनता मा.वि.को सांगितिक पिटि हेरि खड्ग होटलमा स्वादिष्ट खाना खाइ चितवनको सौराहा क्षेत्रका लागि रमाना भयौं । महेन्द्र राजमार्गको मधेश प्रदेशको खण्डमा पनि बाटो धेरै राम्र्रो छैन । सर्लाहीको बाग्मती सिचाँइ आयोजना हेरी हेटौडा हुदै चितवनमा बस मर्मतका बेला चिया खाइ रत्ननगर नगरपालिकाको गैडा चोकबाट भित्र सौराहा क्षेत्रमा प्रवेश गर्यौ । नारायणी नदी किनारको सौराह बजार,सवदेशी र विदेशी पर्यटकको उल्लेख्य उपस्थिती सहितको झिलिमिलीको आनन्द लियौं । आइ लभ सौराहका ठाउँमा फोटो लिइ खाना खाइ रात्री विश्रामका लागि रत्ननगर न.पा.७ माल्पुर स्थित नेचर ग्रिनल्याण्ड होटलमा प्रवेश गर्यौं । भ्रमण टोलीका सदस्य जीवन चौधरीको जन्म दिन पनि सोही दिन परेकाले शुभकामना प्रदान गरि मनार्यौं । कार्तिक ८ गत ेबिहानै नित्यकर्म पश्चात कालो चियापान गरि हामी बिसहजारी ताल र चितनव राष्टिय निकुञ्जको जिप सफारीका लागि ३ वटा जिपमा सवार भइ अगाडी बड्यौ । सो क्रममा बाटाका गाउँबस्ती समेत नियाल्ने सुअवसर प्राप्त भयो । गेटमा सामुहिक ईन्र्टी सफारी जिपवालाले गराइ हामीलाई ताल तर्फ लग्नु भयो । मृग, गोही र रामसार क्षेत्रमा सूचीकृत बिसहजारी तालको अवलोकन गरि सामुहिक र व्यक्तिगत फोटा लिइ हामी बास बसेको नेचर ग्रिनल्याण्ड होटल आयौं । झोला लिइ चेकआउट भइ ड्याम साइड(सौराहा बजार क्षेत्र)अवलोकन गरि खाना खाइ नारायणी नमुना मा.वि. तर्फ प्रस्थान गर्यौंं । भरतपुर महानगरपालिकाको सामाजिक विकास महाशाखा रहेको भवन नजिकै रहेछ नारायणी नमुना मा.वि. ।
सरकारी तवरबाटै नाम परिवर्तन गरि नमुना राख्न अनुमती दिइएको र संघीय सरकारको नमुना कार्यक्रम सबै भन्दा पहिला लागु भएको विद्यालय रहेछ ,नारायणी नमुना मा.वि. । विद्यालयका प्र.अ. रामशरण दुवाडी र वि.व्य.स. अध्यक्ष टेक बहादुर थापाले अन्तरक्रियाको औपचारिक कार्यक्रममा विद्यालयको परिचयसितै असल अभ्यासका थुप्रै विषयमा प्रकाश पार्नु भयो । सूरुमा माध्यमिक तहको नाइट स्क्ुलबाट स्थापित उक्त विद्यालय हालका अवस्थामा पुग्नका निम्ति थुप्रै आरोहअवरोह पुरा गरेको रहेछ । विभिन्न व्यक्तिहरुले निर्माण गरेका अक्षयकोष समेतबाट विद्यालयका शिक्षक व्यवस्थापनमा सहयोग पुगेको प्र.अ. दु्वाडी सरले बताइ रहनु भएको थियो । जिल्ला प्रथम,क्षेत्र प्रथम ह्ुदै नेपाल दोश्रो समेत हुन पुगेको कक्षा १० को परीक्षामा,इतिहास विद्यालयका प्र.अ. दुवाडी सरले प्रष्ट्याउनु भएको थियो । शिक्षकहरुको उपस्थितीलाई बायोमेर्टिक सिस्टममा जडान गरिएको, विद्यार्थी उपस्थितलाई मापन गर्न गेटमै डिटेक्टर मेसिन राखिएको र उक्त मेसिनमा विद्यार्थीले आफ्नो परिचय पत्र प्रस्तुत गरेमा विद्यार्थी उपस्थितीको मेसेज अभिभावको मोबाइलमा स्वतः जाने व्यवस्था मिलाइएको रहेछ । दिवाखाजा व्यवस्थापनमा आमा समुह परिचालन गरिएको तथा विषयगत शिक्षक बैठकबाट सिकाइ अवस्था सुधारका लागि निरन्तर चर्चा भइ रहने विषय समेत विद्यालयको असल अभ्यासका रुपमा अवगत गरियो । टिमेसिनबाट बनेको चिया ग्रहण गरि विद्यालयको शिक्षक उपस्थिति अभिलेख पुस्तिका,स्मारिका र शैक्षिक पात्रो लिइ फोटा समेत लिइ असल विद्यालय बनाउन दत्तचित्तसहितको सेवाभाव सबैमा हुनु पर्ने विषय अवगत गरि त्यहाँबाट बिदा भयौं । बिदा भएर गेट बाहिर निस्कदा विद्यार्थीहरुले दिवाखाजा खाएका भाडाहरु समुहमा मिलि बोकी ल्याइ रहेका दृश्य अत्यन्तै हृदयस्पर्शी थिए । विद्यालयले सिकाउने पनि त्यही हो सेवाभाव,कर्तव्यपरायणता र उदारता । विशेष शिक्षा कार्यक्रम समेत सञ्चालित नारायणी नमुना मा.वि.मा .प्राविधिक तर्फ डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी समेत सञ्चालित रहेछ । सरकारी दरबन्दीका न्युन शिक्षक, कर्मचारी रहेको नारायणी नमुना मा.वि.मा पनि धेरै जसो शिक्षक,कर्मचारी विद्यालय श्रोतबाटै व्यवस्थापन गरिएको रहेछ । सो पश्चात हामी रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको लुम्बिनी धार्मिक क्षेत्रलाई केन्द्रमानी अगाडी बड्यो ।
गण्डकी प्रदेशको बर्दघाट सुस्ता पुर्व (नवलपुर) जिल्लामा रहेको सिजी(शिव) मन्दिरको दर्शन गरि पश्चिमी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका स्थित ममता होटल एण्ड रेष्टुरेन्टमा चियानास्ता खाइ महेन्द्रराजमार्गबाट भैरहवा तर्फ मोडी गौतमबुद्ध अन्तराष्टिय विमानस्थल हुदै लुम्बिनी बौद्ध विश्वविद्यालय जाने बाटोमा रहेको होटल बबीमा रात्री बास बस्नका लागि तयार भयौैं । बसबाट सबै सामान होटलमा ल्याइ खाना खानु पुर्व वि.व्य.स.अध्यक्ष अमर सिंह चौधरी सरको जन्म दिन शुुभकामना आदानप्रदान गरि मनायौं । सोपश्चात खाना खाइ रात्री निन्द्रामा विलिन भयौं । कार्तिक ९ गते बिहानै नित्यकर्म पश्चात चिया खाइ हामी लुम्बिनी क्षेत्रको ४ नम्बर गेट हुदै मायादेवी मन्दिरतर्फ प्रस्थान गर्यौं । ११५४ बिगाहा क्षेत्रफलमा फैलिएको लुम्बिनी क्षेत्रमा अवस्थित मायादेवी मन्दिर दर्शनका लागि प्रति व्यक्ति रु.२० को टिकट काटी प्रस्थान गर्यौं । गौतमबुद्धसंग सम्बन्धित प्राचिन घरका भग्वावशेषहरुलाई संरक्षीत गरि राखिएको रहेछ । विश्व सम्पदा सूचीमा समावेश लुम्बिनी क्षेत्रमा थुप्रै स्वदेशी र विदेशी पर्यटक आउदा रहेछन । नेपाल प्रहरी,सशस्त्र प्रहरी र लुम्बिनी क्षेत्र विकास कोषका सुरक्षाकर्मीबाट सुरक्षा व्यवस्थापन हुने लुम्बिनी क्षेत्रमा अवस्थित पुर्व राजा ज्ञानेन्द्रले समुद्घाटन गरेको अखण्ड बलीरहने शान्तिदिपको अवलोकन गरि लुम्बिनी लेखिएको ठाउँ,गौतम बुद्धको ठाउँमा एकल र युगल फोटा लियौं । लुम्बिनी परिसर भित्र बौद्धधर्मावलम्बी देश(थाइल्याण्ड,म्यानमार आदि)ले बनाएका मन्दिरहरु रहेछन । विशालकाय त्यस क्षेत्रमा घुमाउन भिपट्टीनै अटोरिक्साको व्यवस्था हुदो रहेछ, ५ जना सम्मलाई घुमाएको रु.१०५० खर्च । हामीसंग समयको पर्याप्तता समेत नभएकाले सो क्षेत्रभित्रको ताल र मुख्य मन्दिर हेरी बस छेउ पुग्नुपुर्व केही चिन्होका सामग्री समेत खरिद गयौं । त्यसपछि मायादेवी ,ओमसतीया,सिद्धार्थनगर,तिलोत्तमा पालिका हुदै बुटबलउपमहानगरपालिका वडा नं.१० स्थित कालिका चौकमा रहेको कालिका मानव ज्ञान मा.वि.मा पुग्यौं ।
बेलाबेलाको तारान्तर सम्पर्क पछि बुटबल भैरहवा सडकको दायाँपट्टी रहेको कालिका मानव ज्ञानमा जान आकाशे पुल प्रयोग गर्यौ । सडकस्तर,सरसफाइ आदिले संघीय राजधानीलाई चुनौती दिइ रहेको थियो बुुटबल क्षेत्रमा । हामीलाई स्वागत गर्न गेट छेउमै एकजना कर्मचारी आउनु भएको थियो । वहाँसितै हामी सिधै वि.व्य.स.अध्यक्ष नित्यानन्द ज्ञवाली सरको कार्यकक्ष अघिको बैठक कक्षमा बस्यौ । सामान्य औपचारिकता पश्चात ईवराज तिवारी सरले विद्यालयका विविध पक्षहरु स्लाइडबाट प्रस्तुत गर्नु भयो ।८०५३ जना विद्यार्थी अध्ययनरत विद्यालयमा ४।४ तलाका विशाल भवनहरु रहेछन । पुर्ण सरसफाइ र हरित विद्यालय अवधारणालाई व्यवहारमा ल्याइएको विद्यालयमा राज्यस्तरबाट तलब खाने ६२ र विद्यालयस्तरबाट तलब खाने १८७ जना शिक्षक,कर्मचारी कार्यरत रहेछन । आर्थिक पक्ष अन्तर्गत कुल बजेटको २० प्रतिशत सरकारी क्षेत्रबाट र ८० प्रतिशत हिस्सा विद्यालयस्तरबाटै व्यवस्थापन हुुदो रहेछ । विद्यार्थीको सर्वांगीण विकासका निम्ति खेल शिक्षक,साहित्य परामर्शदाता आदिको छुट्टै व्यवस्था गरिएको रहेछ । विद्यालयको आरोहअवरोहको श्रृंखला पु्र्व प्र.अ. तथा बुटबल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक सरले जोड्नु भयो । कालिका र मानव ज्ञान २ वटा विद्यालय २०७५ सालमा मर्ज भएर कालिका मानव ज्ञान मा.वि.बनेको छ । विभिन्न विषयगत समितिको निर्माण गरिएको रहेछ,नतिजा विश्लेषण र सुधारका लागि । विद्यार्थी संख्या बढि भएकाले कक्षागत शिक्षक इन्चार्ज बनाइएको रहेछ, उक्त इन्चार्ज तत्कक्षाको प्रिन्सिपलकै रुपमा काम गर्दो रहेछ । विद्यार्थीहरुको व्यवस्थापन विद्यार्थीबाटै गराउन प्रत्येक कक्षामा सिएमसी(क्लास रुम मेनेज्मेण्ट कमिटी) विद्यार्थीकै अगुवाइमा निर्माण गरिएको रहेछ । विद्यालयको आन्तरिक श्रोतबाट तलबखाने शिक्षकलाई निजी नभनेर विद्यालय श्रोतका शिक्षक भनिदो रहेछ,उनीहरुको सेवासुविधा समेत सरकारी श्रोतबाट तलब भत्ता खाने शिक्षक जत्तिकै हुदा रहेछ(ग्रेड, उपदान, कोषकट्टी आदि) ।
शैक्षिक सत्रको सुरुवातीमा हरेक वर्ष शिक्षक तालिम प्रदान गरिदो रहेछ, गतवर्षको सिकाइ अवस्था र नतिजा समिक्षा सहित । बिहान ९ः५५ मा शिक्षक विद्यालयमा पुगि ईहाजिर गरिसक्नु पर्ने रहेछ सोपश्चात सिस्टम आफै बन्द हुदो रहेछ । टार्फिक जाम आदि भैपरि कारणले शिक्षक विद्यालयमा ढिला पुगेको होभने लिखित निवेदन सहित प्रमाण पेश गरेमा मात्र हाजिर हुन पाइदो रहेछ । हाजिरीलाई तलबसित जोडिएको रहेछ । शिक्षक सकारात्मक उत्प्रेरणाका थुप्रै असल अभ्याससितै तोकिएको जिम्मेवारी,उपलब्धि हासिल गराउन नसकेमा नकारात्मक उत्प्रेरणाको समेत व्यवस्था गरिएको रहेछ । विद्यालयमा सञ्चालन हुने वार्षिकोत्सव बाहेक हरेक क्रियाकलाप तथा कार्यक्रमको सञ्चालन विद्यार्थीलेनै गर्दा रहेछन,विद्यार्थी नेतृत्व क्षमता बढोस भनेर । विद्यार्थीमा भाषा,साहित्य,कलाको उन्नयनतर्फ सोच विकास हुन सकोस भनि विद्यालयले आफ्नो वार्षिकोत्सवको पुर्व सन्ध्यामा हरेक वर्ष जिल्लास्तरीय कविता प्रतियोगिता आयोजना गर्दो रहेछ । खराब मानिसलाई सुधार्ने मुख्य औषधी भनेको माया र स्नेह हो भन्ने महात्मा गान्धीको विचारलाई यहाँ व्यवहारतः अनुसरण गरिएको रहेछ, फटाहा, गैरजिम्मेवार विद्यार्थीहरुको बानी सप्रियोस भनि अनुशासन जस्ता सुशासन झल्किने समिति सदस्य आदि बनाइदो रहेछ । हरेकलाई हजुर शब्दले सम्बोधन गर्न प्रेरित गरिदो रहेछ । बाल शिक्षा कक्षामा भर्ना हुने विद्यार्थीलाई सुरुमै कक्षाकोठामा नलगि केही दिन नाचगान,मनोरञ्जन कक्षमा बसालिदो रहेछ अनि मात्र उत्कृष्ट तवरले व्यवस्थापन गरिएको बाल कक्षामा लगिदो रहेछ । स्नातकोत्तर योग्यतका व्यक्तिलाई बाल कक्षाका शिक्षकमा रितपुर्वक नियुक्ति दिइदो रहेछ । ८००० बढि विद्यार्थीलाई पिटि परेडमा यसरी पोख्त बनाइएको रहेछकि सबै विद्यार्थीको आधा घण्टामै पिटि परेड,प्राथना सकिदो रहेछ । बिदाका समयमा पनि शिक्षक,कर्मचारी आंशिक रुपमा शैक्षणिक योजना बनाउदा रहेछन । विद्यालयका आधुनिक भवन निर्माणको आर्थिक पक्षका लागि व्यवस्थापन समिति अलि चनाखो भइ लाग्नै पर्ने पनि पुर्व प्र.अ. घनश्याम पाठक सरले बताउनु भयो ।
त्यस विद्यालयका त्यत्रा भवन निर्माण गर्न सुरुमा वि.व्य.स. सदस्य,प्र.अ र अरुले १०।१० लाख लगानी गर्नु भएको रहेछ । पछि बजेट व्यवस्थापन भइ सकेपछि आफ्नो लगानी फिर्ता लग्नु भएको रहेछ । विद्यालय विकासका नीति निर्माण गर्दा डेमोक्रेटिक र कार्यान्वयन गर्दा अटोक्रेटिक हुनु पर्नेकुरा घनश्याम पाठक सरले बताउनु भयो । सिस्टम मुख्य कुरा हो,नियम चै बनाउनु पछ ,पछि कार्यान्वयनका निम्ति व्यक्तिले फरक नपार्ने कुरा समेत उहाँले बताउनु भयो । विद्यार्थीको अपनत्व विकासका लागि गमला खरिदमा पनि विद्यार्थीलाई सरिक गराइएको, आपसी परामर्शको विद्यालय विकासमा ठुलो महत्व रहेको जस्ता थुप्रै विषयमा गहनतम प्रकाश खेल शिक्षक हरि बहादुर वलीले पार्नु भयो । हसाँइ हसाँइ मन्त्रमुग्ध हुने गरि विषयवस्तु प्रस्तुत गर्ने वली सरको प्रतिभा विलक्षणयुक्त थियो । थुप्रै शैक्षिक,प्रशासकीय सुधारका विषयवस्तुबारे जानकारी लिने अवसर वली सरबाट पनि प्राप्त भयो । बाल कक्षामा प्रवेश गर्दा जुत्ता खोलेर मात्रै जानु पर्ने, बालबालिकाका जुत्ता राख्न तिनकै फोटो अंकित र्याक व्यवस्थापनको कार्य पनि उत्कृष्ट थियो । हरेक क्षेत्रमा उत्कृष्टता प्रस्तुत गर्ने विद्यार्थीलाई एसेम्बलीमा सम्मानित गरिदो रहेछ । प्र.अ., वि.व्य.स.कक्ष पनि अति आधुनिक तवरले सजाइएको थियो । विभिन्न्न जिल्लका गरिब विद्यार्थीलाई छात्रवासको सुविधा सहित निःशुल्क पठनपाठन गर्ने कालिका मा.वि.मा विद्यार्थीको क्वान्टिीटीमा मात्र नभइ क्वालिटीमा समेत उच्च स्थानमा रहेछ । भिजिटर्स डायरीमा समेत आफ्नो उपस्थिती जनाइ वि.व्य.स. अध्यक्ष नित्यानन्द ज्ञवालीका विचार समेत श्रवण गरि सामुहिक तस्बिर लिइ विद्यालयको स्मारिका ग्रहण गरि सबैमा धन्यवाद प्रकट गरि हरि बहादुर वली सरको आकर्षक शैली हातमा हात मिलाइ शुभकामना आदान प्रदान गरि बिदा भयौं । बुटबल बसपार्क छेउको होटल कोसेली ईटाभट्टी चौकमा स्वादिष्ट खाना खाइ दाङ भ्रमणको योजना स्थगीत गरि बेलौरी गन्तव्यका लागि अगाडी बढ्यौं ।
कपिलवस्तु,अर्घाखाँची हुदै दाङ लमहीको चालक रिफ्रेस सेन्टरमा चिया खाजा खाइ रातीको करिब ११ बजेतिर भुरिगाउँ बर्दियामा खाना खाइ २०८१।७।१० गते बिहान ३ः१५ बजेतिर सकुशल गन्तव्य बेलौरी पुगि घरतर्फ प्रस्थान गर्यौं । यात्राका बखत गाडीमा अलिक अप्ठ्यारो भए पनि शैक्षिक,धार्मिक,पर्यटकीय थुप्रै क्षेत्रको अवलोकन गरि ज्ञानार्जन एवं क्षमता विकास गर्ने सुअवसर प्राप्त भयो ।
भ्रमण टोलीका सदस्य :
१. जोगराम चौधरी,नगर उपप्रमुख,टोली नेता
२. अमित प्रसाद भट्ट, नि.प्रमुख शिक्षा, युवा तथा खेलकुद शाखा
३.अमर सिंह चौधरी, वि.व्य.स.अध्यक्ष, जननमुना मा.वि.
४.शिवलाल चौधरी, प्र.अ. जननमुना मा.वि.
५.कृपाराम चौधरी, वडा सदस्य बेलौरी न.पा.वडा नं.५
६.कृष्ण चौधरी, एमआइएस अपरेटर, बेलौरी न.पा.
७.जय सिंह कुँवर,स.क.अ., बेलौरी न.पा लगायत शिक्षक, कर्मचारी, वि.व्य.स., पि.टि.ए.पदाधिकारी र सरोकारवाला गरी ३२ जना र बस स्टाफ समेत गरि जम्मा ३५ जना । (मिति : २०८१।७।१ देखि ऐ.१० गते सम्म)
लेखक: अमित प्रसाद भट्ट