राज्यबाट पाएको सम्पूर्ण सेवा सुविधा सामाजिक कार्यमा

खडक ब. कोली/ महेन्द्रनगर: दोधारा चाँदनी नगरपालिकाका एक वडा अध्यक्षले राज्यबाट पाएको सम्पूर्ण सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्दै आएका छन । सरकारले दिएको सेवा सुविधा आर्थिक अवस्था कमजोर भएका गरिब विपन्न परिवारलाई दिने गरेका छन् । दोधारा चाँदनी नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष केशव बहादुर खत्रीले फोक्सोका बिरामी २७ वर्षिय जयबहादुर रानालाई १५ हजारको चेक हस्तान्तरण गरेका छन् । आर्थिक अवस्था कमजोर भएका राना दोधरा चाँदनी नगरपालिका ६ नम्बर वडामा दिदीको घरमा बस्दै आएका छन ।

फोक्सोको रोगबाट ग्रसित भएका रानाका बुबा पनि बिरामी र आमा नभएकाले उपचारमा समस्या आएकोले अध्यक्षज्यूले गरेको सहयोगले उपचारमा सहयोग मिलेको बताए । अध्यक्ष खत्रीले अर्का मृगौला पीडित ४० वर्षीय कुशल सुनारलाई आर्थिक सहयोग अभियानबाट संकलन गरेको २ लाख ५० हजार रुपैया हस्तान्तरण गरेका बताउदै तत्काल उपचारका लागि ५ हजार १ सय रुपैया नगद समेत दिएका छन । त्यसैगरी आमा बिना टुहुरो र बुबा प्यारालाइसिस बिरामी भएका कारण पढन नसकेका विद्यार्थी लक्की सुनारलाई व्यक्तिगत सहयोगले पढाई रहेका छन । कक्षा ६ मा भानु मा.वि.मा अध्ययनरत लक्कीले अध्यक्ष ज्यूको आर्थिक सहयोगले आफुले मिहिनेत गरेर पढने बताए । अध्यक्ष खत्रीले लक्कीलाई पढाएर जागिर समेत लगाउने प्रतिबद्धा समेत गरेका छन । स्थानिय चुनावमा बिजयी भएका खत्रीले आफ्नो घोषणा पत्रमा सरकारबाट पाएको सेवा सुविधा आर्थिक अवस्था कमजोर भएका गरिब विपन्न, अपाङ्गता भएका व्यक्ति, टुहुरा बालबालिका, विभिन्न रोगबाट ग्रसित भएका व्यक्तिहरूलाई सहयोग गर्ने बाचा अनुसार नै सहयोग गरिरहेको बताए ।

सरकारबाट मासिक रुपमा पाएको २४ हजार ७ सय पचास रुपैँया आफ्नो कार्यकालदेखि अहिले सम्म आर्थिक अवस्था कमजोर भएका १ सय ३ जनालाई सहयोग गरेको बताए । उनले भने फोक्साका बिरामी, मृगौलाका बिरामी, टुहुरा बालबालिका, अपाङ्गता भएका व्यक्ति, गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई आर्थिक सहयोग तथा बाढी पिडितलाई खाद्यान्न सामग्री, नगद सहयोग गदै आएको बताएका छन । दोधारा चाँदनी नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष केशव बहादुर खत्रीले आफु अध्यक्ष हुनु भन्दा पुर्व सामाजिक सेवा गदै आएकोले अगामी दिनमा पनि वडाबाट पाएको सेवा सुविधा र व्यक्तिगत रुपमा पनि सामाजिक सेवा गर्ने अध्यक्ष खत्रीको भनाइ रहेको छ ।

ताजा समाचार