कञ्चनपुरमा आज गिद्ध गणना हुदै

राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर : सोह्रौं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा आज कञ्चनपुरमा गिद्ध गणनाको कार्य भैरहेको छ । नेपाल पंछी संरक्षण संघ(विसिएन)को आर्थिक सहयोगमा गिद्ध पाईने संभावित क्षेत्रमा गणकहरुलाई खटाएर गणनाको कार्य भैरहेको हो । अबलोकन, गणना र सचेतना प्रवाह गरी गिद्ध दिवस मनाउने कार्य भैरहेको संघका चरा विज्ञ हिरुलाल डगौराले बताउनु भयो । उहाँका अनुसार गिद्ध गणना कार्यक्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा नेचर गाईड एसोसिएसन, एनटिएनसी, कञ्चनपुर चरा संरक्षण समुह, बेलौरी नगरपालिका स्तरीय युवा सञ्जाल लगायतका प्रतिनिधि सहभागी रहनु भएको छ । गिद्ध गणनाको कार्य विहानै देखि शुरु गरिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटा, भतपुरी, तारापुर, निकुञ्जको शुक्लाफाँटा घाँसे मैदान संगै निकुञ्ज बाह्य क्षेत्रको बन्साहा, पर्सीया, कञ्ज, झिलमिला, बेलडाँडी, किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गिद्ध गणना गर्ने कार्यक्रम रहेको छ । यो संगै कैलालीको खुटिया क्षेत्र र बेलीपतेला क्षेत्रमा पनि गिद्ध गणनाको कार्य भैरहेको छ । पाँच देखि १० जना सम्मको टोलीमा गणकहरुलाई विभाजन गरी गणनाको कार्य अगाडी बढाईएको डगौराले जानकारी दिनु भएको छ । “गणकहरुलाई गिद्ध देख्न सकिने संभावित क्षेत्रमा पठाएका छौं” उहाँले भन्नुभयो, “एक ठाउँबाट गणना गर्नका लागि कम्तीमा आधा घण्टा बसेर गणना गर्छौ, हिडदा हिडदै गणना गर्नका लागि एक घण्टा प्रति किलोमिटर भन्दा कम चालमा गणनाको कार्य हुन्छ ।” गणकहरुले गिद्धका प्रजाति छुट्टयाई संख्याका साथै क्रियाकलाप (सिनो खाएको, घाम तापेको, पानी खाएको वा नुहाएको, आकाशमा उडेको, झगडा गरेको आदी) अभिलेख राख्ने कार्य संगै गिद्धलाई हुन सक्ने खतरा र चुनौतीको अभिलेख गर्ने,गिद्धका प्रजाति र उमेर समुह पहिचान सहयोगको लागि पुस्तक, पोस्टर, मर्लिन एपको प्रयोग गरी फोटो तथा भिडियो खिच्ने कार्य गरिने बताईएको छ ।

गिद्ध गणनाका लागि विहान ७ बजे देखि ११ बजे र साँझ ३ बजे देखि ६ बजे सम्मको समय निर्धारण गरिएको छ ।
यस अघिको सर्भेमा कञ्चनपुरमा गिद्धका एक सय २० बढी गुँड फेला परेका थिए । जस मध्ये लोपोन्मुख अबस्थमा पुगेको डंगर गिद्धका मात्रै एक सय १४ गुँड फेला परेका थिए ।कञ्चनपुरमा तीन यस देखि चार सयको हाराहारीमा गिद्ध रहेको चरा विज्ञहरुको अनुमान रहेको छ । नेपालमा नौ प्रजातीका गिद्धहरु पाईने गरेका छन । जसमा डंगर, सानो खैरो, सेतो हिमाली, लामो ठुडे, सुन,हाडफोर, खैरो र राज गिद्ध रहेका छन । प्रत्येक वर्षको सेप्टेम्बर महिनाको पहिलो शनिवार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाईने गरिन्छ । नेपालमा सप्ताहव्यायी रुपमा १ देखि ७ सेप्टेम्बर सम्म गिद्ध दिवस मनाईदै छ ।

ताजा समाचार