दोधारा । कञ्चनपुरमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहयोगमा बाढी प्रभावितका लागि अस्थायी आवास तथा तटबन्ध निर्माण सम्बन्धी छलफल भएको छ् । साथै गत असार २२, २३ र २४ गतेको बाढीका कारण भएको क्षति र साँझेदार संस्थाहरुले प्रभावितहरुका लागि गरेको राहत वितरण कार्य र आगामी दिनमा गर्नुपर्ने पूर्व तयारीका विषयमा समेत छलफल भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले कञ्चनपुरमा असारको बाढी प्रभावितहरुलाई एनएनएसडब्ल्यूए लगाएतका संघ–संस्थाहरुले ठूलो राहत प्रदान गरेको बताउनुभयो । उहाँले बाढीका कारण घर क्षति भएका प्रभावितहरुलाई तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने भएकाले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले ‘विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड–२०८१’ र ‘विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि साँझेदार संस्था परिचालन कार्यविधि’ तयार भएको बताउनुभयो । जलवायु परिवर्तनको असरका कारण आगामी दिनमा पनि ठूलो विपद् आउन सक्ने भएकाले पूर्वाधार निर्माण गर्दा तिनै तहको सरकारले विपद्को जोखिमलाई ध्यानमा राखेर मात्र योजना बनाउनुपर्ने उहाँको भनाई रहेको छ् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले कञ्चनपरमा गत असारको बाढीमा उद्धार कार्य प्रभावकारी रुपमा सञ्चालन भएको बताउनुभयो । उहाँले एनएनएसडब्ल्यूए लगाएतका संस्थाहरुले ठूलो मात्रामा खाद्य सामग्री र गैर खाद्य सामग्री वितरण गरेको बताउदै उहाँले एनएनएसडब्ल्यूएले राहत तथा अन्य सहायताको भर्पाई जिल्ला प्रशासन कार्यालयमा बुझाएकाले पारदर्शीरुपमा राहत वितरण गरिएको बताउनुभयो ।
दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले एनएनएसडब्ल्यूए र डीसीए नेपाल लगाएतका संस्थाहरुको सहयोगमा पूर्वाअनुमान प्रणाली व्यवस्थित भएकाले ठूलो मानविय क्षति हुनबाट जोगिएको बताउनुभयो । उहाँले दोधारामा पक्की तटबन्ध निर्माण हुनुपर्ने साथै दोधारा चाँदनी नगरपालिका– १० शान्ति टोल बाढीको उच्च जोखिममा भएकाले सुरक्षित आवासको आवश्यकता भएको बताउनुभयो । यस्तै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले डीसीए नेपाल, मर्सिकोर र सेभ द चिल्ड्रेनको सहकार्यमा पालिका संगको समन्वयमा गैर खाद्य समाग्री, खाद्यान्न र शैक्षिक सामग्री गरि करिब रु. २ करोड २५ लाख बराबरको राहत सहयोग गरिएको बताउनुभयो ।
कार्यकारी निर्देशक जैरुले दोधारा चाँदनीमा डीसीए नेपालको सहयोगमा पूर्व सूचना प्रणाली व्यवस्थित भएको बताउनुभयो । कार्यक्रममा कञ्चनपुरका नौ वटै पालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत साथै एनएनएसडब्ल्यूए, निड्स नेपाल, युनिसेफ, वर्ल्ड भिजन, सेभ द चिल्ड्रेन, मर्सिकोर, हेबिटाट फर ह्युमनिटी, जीआईजेड, आईओएम, यूएनडीपी, एनएलआर र अक्सफाम लगाएत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु तथा सरोकारवाला निकायहरुले बाढीबाट भएको क्षति तथा उद्धार तथा राहत वितरण बारे बताएका थिए ।
साथै बाढी प्रभावित स्थानहरु दोधारा चाँदनी नगरपालिकाको बाढीग्रस्त बस्ती जमुनाघाट र कुतियाकवर लगायतका स्थानहरुको स्थलगत अवलोकन गरेका थिए ।