भलिबलका गुरु जगदिश भट्टलाई मुख्य प्रशिक्षकको जिम्मेबारी

कञ्चनपुर : जगदिश भट्ट भन्ने वित्तिकै भलिबलका गुरु भनेर सहजै परिचित नाम हो । सुदूरपश्चिम प्रदेश कञ्चनपुरका स्थानीय भट्टले स्थानीदेखि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा भलिबलको बृद्धि विकासमा निकै भूमिका निर्वाह गरेका छन । तिनै भलिबल प्रशिक्षक भट्टलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भलिबलको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ । हालै काठमाण्डौँमा सम्पन्न भएको काभाका विभिन्न भलिबल प्रतियोगिताका पदक विजेता खेलाडीलाई पुरस्कृत गर्न शनिबार आयोजित कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले भट्टलाई भलिबलको मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय भएको बताए ।

भट्ट झण्डै ३ दशकदेखि राखेपमा कार्यरत छन् । ०५३ देखि राखेप प्रवेश गरेका उनी ०६१ मा सहायक प्रशिक्षकमा स्थायी भएका थिए । भट्टले राखेप र नेपाल भलिबल संघसँग भलिबल विकासका लागि आफूले पुलको भूमिका निर्वाह गर्न कोशिस गने बताए । प्रज्वलबहादुर सिंहको अवकाशपछि राखेपको मुख्य भलिबल प्रशिक्षकको पद रिक्त थियो। काभा सेन्ट्रल जोन च्याम्पियनसिपमा नेपाली महिला टोलीलाई दुई पटक च्याम्पियन बनाएका भट्टको नेतृत्वमा महिला टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक रजत पदक जिताएका थिए ।

भट्टकै प्रशिक्षणमा महिला टोलीले गत महिना काभा महिला भलिबल नेसन्स लिगमा रजत पदक जितेको थियो । त्यसकै लिगमा नेपाली टोलीले भलिबल इतिहासमा नै पहिलो पटक भारतलाई हराएको थियो । भट्टले स्थानीय स्तरमा हुने भलिबल प्रतियोगितामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन । अधिकाँस सुप प्रदेशबाटै भलिबलका खेलाडी रहेका छन । विभागियमा समेत सुपकै बाहुल्यता रहेको छ ।

ताजा समाचार