बेलडाँडीमा खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु

बिवनजे युथ लाई हराउँदै मल्टिस्टार युवा क्लबको बिजय सुरुवात, भोलि तीन खेल हुने

कञ्चनपुर: जिल्लाको बेलडाँडीमा खुल्ला नकआउट फुटबल प्रतियोगिता सञ्चालन गरिएको छ ।

गौरा पर्वको अवसर पारेर बेलडाँडीमा रहेको अल स्टार युवा क्लबको आयोजनामा शुक्रबारदेखि सातौँ संस्करणको फुटबल प्रतियोगिता सञ्चालन  गरिएको हो । प्रतियोगितामा बाहिरका सोह्र टिम र आयोजकको एक गरी १७ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ८१ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र तथा द्वितीय हुने टिमलाई नगद ४५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष लोक बहादुर बलायरले जानकारी दिनुभयो । यस्तै अन्य विद्याका उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कार प्रदान गरिने बताइएको छ ।

प्रतियोगिता भव्य रूपमा सफल पार्नका लागि देश विदेशमा रहेका पूर्वखेलाडी, खेलप्रेमी र व्यापारीहरूको तर्फबाट आर्थिक सहयोग प्राप्त भएको प्रतियोगिताका संयोजक एवम् अल स्टार युवा क्लबका उपाध्यक्ष मनोज खडायतले बताउनु भयो । क्लबलाई विभिन्न तवरले सहयोग गर्नु हुने सम्पूर्णलाई आयोजकले कृतज्ञता साथ धन्यवाद ज्ञापन गरेको छ ।

बेलडाँडी गाउँपालिका वडा नं. १ स्थित कालिका मन्दिरको उत्तरपट्टिको मैदानमा सञ्चालित प्रतियोगिताको शुक्रबार अपराह्न उद्घाटन गरिएको छ । क्लबका अध्यक्ष लोकबहादुर बलायरको अध्यक्ष तथा बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको उद्घाटन समारोहमा गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष गजबहादुर बिष्ट सहित वर्तमान तथा निवर्तमान स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, समाजसेवी, खेलाडी र खेलकुद प्रेमीहरूको उपस्थिति रहेको थियोे । उद्घाटन समारोहको सहजीकरण शिक्षक भीमराज जोशीले गर्नुभएको थियो । वक्ताहरूले खेलकुद क्षेत्रको विकासका लागि आआफ्ना धारणा व्यक्त गर्नुभएको थियोे ।

उद्धघाटन खेल मल्टिर स्टार युवा क्लब र बिआईजे युथ बिच भएको रोमाञ्चक खेलमा मल्टि स्टारले ४-० गोलको अन्तरले बिआईजे युथ लाई हराउदै आफ्नो पहिलो जित दर्ता गरेको छ।
भोलि प्रतियोगिताको दोस्रो दिन तीन खेल हुने प्रतियोगिता संयोजक मनोज खडायतले बताउनु भयो। पहिलो खेल बिहान ८ बजे झिलमिला युवा समाज ‘सि’ र जय लक्ष्मी युवा क्लब, दोस्रो खेल दिउँसो १ बजे वाई.बि. स्टार र चिफ एण्ड बेष्ट बिच हुने हुनेछ। भने तेस्रो खेल बेलडाँडी फुटबल एकेडेमी ‘बि’ र झिलमिला युवा समाज ‘बि’ बिच दिउँसो ३ बजे हुने छ।

ताजा समाचार