कञ्चनपुर: केन्द्रमा सत्ता समिकरण परिर्वतन भएसंगै त्यसको असर सुदूरपश्चिम प्रदेशमा समेत परेको छ । नेपाली काँग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ बहादुर सोडारीको राजिनामा माग अघि सारेको छ । नेकपा एमालेका युवा नेता राधाकृष्ण जोशी(ज्वाला)ले आइतबार नेकपा एमाले र नेपाली काँग्रेस संसदीय दलको बैठकबाट अल्पमतमा परेका सरकारको राजिनामा माग निर्णय निर्णय गरेको बताए । आइतबार एमाले, काँग्रेस संसदीय दलले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री सोडारीको राजिनामा माग गरेको हो ।

एमाले सरकारबाट २० असारमा बाहिरिएसंगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेकाले सरकारले नैतिक आधार गुमाईसकेकाले तत्तकाल राजिनामा दिएर मार्ग प्रसस्त गर्न समेत अनुरोध गरिएको छ । काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावलद्वारा हस्ताक्षरित गरिएको संयुक्त प्रेस विज्ञप्तीमा बहुमत गुमाईसकेको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनैपनि काम काज नगर्न आब्हान गरिएको छ । दोस्रो पटक सम्पन्न भएको प्रदेश सभा सदस्य निर्वाचन भए लगत्तै एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री भएका थिए । त्यसपछी राजनीतिक समिकरण परिर्वतन भएसंगै काँग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री भएका थिए ।

फेरी केन्द्रमा राजनीतिक समिकरण परिर्वतन भएसंगै गत बैशाख पहिलो साता नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा दिर्घ सोडारी मुख्यमन्त्री भएका थिए । सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि आउँदो बर्षको बजेट समेत प्रभावित हुने आशंका गरिएको छ । केन्द्रीय समिकरण अनुरुप सुप प्रदेशमा एमाले, काँग्रेसको सहजै बहुमत पुगिरहेको छ । प्रदेश सरकार बनाउने ढलाउने प्रवृतिबाट नागरिक प्रदेश सरकारप्रति विश्वस्त भने हुन सकेका छैनन ।

