‘वन संरक्षण गरेर मात्रै हुदैन व्यवस्थापनमा पनि जोड दिउ’

राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर : लालझाडी मोहना बन संरक्षण क्षेत्र समन्वय सरोकारवालाहरुको बैठकले संरक्षित बनको कार्ययोजना ,कार्यबिधि बनाउनेतर्फ प्रदेश सरकार र संघीय सरकारका बन मन्त्रालय ,वनबिभाग लाई अनुरोध गर्ने निर्णय गरेको छ । शनिवार कृष्णपुर नगरपालिका २ बाणि स्थीत जिल्ला वन समिन्वय समितिको सभा हलमा भएको बैठकमा लालझाडि मोहना बन संरक्षण क्षेत्रमा रहेका सामुदायिक उपभोक्ता समुहहरुको काठदाउरा संकलन तथा उपभोक्तहरुको माग अनुसार आपुर्ति गर्ने बिषयमा छलफल भएको छ । बैठकमा सहभागी सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका प्रमुख हेमराज बिष्टले वन संरक्षण गर्ने मात्रै नभएर व्यवस्थापनको कार्यमा पनि जोड दिईनु पर्ने बताउनु भयो । बैठकमा बोल्दै उहाँले वन र उपभोक्ताको तालमेल मिलाएर मात्रै संरक्षणका कार्यक्रम सञ्चालन गर्न सकिने बताउनु भयो ।

तीन वर्ष ठप्प रहेको ढलापडा रुखहरु सङकलन गर्ने, झाडी सरसफाई गर्ने कार्यलाई अगाडी बढाईएको उहाँले बताउनु भयो । “वनमा लाग्ने डढेलोका कारण वनमा ढलापडा रुखहरु जलेर सखाप हुने तर सङकलन गर्नु हुदैन भन्ने मान्यता थियो” उहाँले भन्नु भयो, “संरक्षण गर्नेले उपभोग गर्न पनि पाउनु पर्छ, त्यसका लागि नीति गत व्यवस्था गरी फुकुवा गरेका छौं ।” परम्परागत तरिकाबाट वन संरक्षण हुन नसक्ने भएकाले वन संरक्षण गर्ने उपभोक्तालाई उपभोग गर्न पाउने अधिकार पनि दिईनु पर्ने उहाँको भनाई थियो । सामुदायिक वनमा दीगो वन व्यवस्थापन कार्यक्रम छिट्टै लागु गरिन लागेको उहाँले जानकारी दिनु भयो । वन्यजन्तु र मानव विचको द्वन्द्व सामाधन गर्नका लागि तालमेल मिलाउनु जरुरी रहेको उहाँले बताउनु भयो । “वन्यजन्तुको संरक्षण गर्नु पर्छ” उहाँले भन्नु भयो, “किसानको खेतको बालीनालीमा बन्यजन्तुले पुरयाउने क्षतिको क्षतिपूर्ति पनि दिनु पर्छ ।” संघीय सरकारले वन्यजन्तुले पुरयाएको क्षतिको क्षतिपूर्ति रकम दिनु पर्नेमा अहिले सम्म उपलव्ध नगराउदा किसानलाई दिन नसकिएको उहाँको भनाई थियो । सात प्रदेशमा वन्यजन्तुले पुरयाएको क्षति वाफत संघीय सरकाले रु दुई करोड पठाउन लागेको जानकारी पाएको उल्लेख गर्नु हुदै उहाँले सुदूरपश्चिमको अछाममा मात्रै रु ६५ लाख क्षतिपूर्ति वाफतको रकम दिन बाँकी रहेको बताउनु भयो ।

जिल्ला वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले सामुदायिक वन संरक्षण गर्ने तर संरक्षण गरेवाफत वन पैदावार उपभोग गर्न नपाउने कारणले सामुदायिक वनमा चोरी बढेको बताउनु भयो । सामुदायिक वनहरुले काठ दाउरा सङकलन गर्न नपाउदा वन क्षेत्रमा चोरी तस्करी बढेको उहाँको ठम्याई थियो । वैज्ञानिक आधार तय गरी लालझाडीमोहना वन संरक्षण कार्यक्रमको कार्ययोजना बनाउनु पर्ने पूर्व प्रदेश सभा सदस्य रहि सक्नु भएका जोशीले बताउनु भयो । संविधानमा भएको व्यवस्था अनुसार वन संरक्षणका लागि समन्वय, सहकार्य र सहअस्तीत्व हुनु पर्नेमा उहाँको जोड थियो । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले प्रकृति बचाउने अभियानमा सबैको चासो हुनु पर्ने बताउनु भयो । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले वन क्षेत्रलाई हानी नपुरयाईकनै पर्या पर्यटनका कार्यक्रम सञ्चालन गर्नका लागि प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले वन संरक्षण संगै अग्राधिकारको ग्यारेण्टी गरिनु पर्ने बताउनु भयो । डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल अधिकृत भीमप्रसाद कँडेलले लालझाडी मोहना संरक्षित वन, जैविक मार्ग र जैविक विविधताको प्रभावकारी संरक्षण र दीगो व्यवस्थापन बारे बैठकका सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । डिभिजन वन कार्यालय कैलालीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले कैलाली कञ्चनपुरम वन अतिक्रमणका बढदो रुपमा रहेको बताउनु भयो ।

वन संरक्षणका लागि राजनीतिक प्रतिवद्धता गरिने भएपनि व्यवहारमा पटक्कै कार्य नहुदा वन संरक्षण गर्न चुनौतिको सामना गर्नु परेको उहाँले बताउनु भयो । युएसआइडीको जल जंगल कार्यक्रमका संयोजक भाष्कर भट्टराईले सञ्चालन हुने कार्यक्रमको उद्देश्य बारे बैठकका सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । लालझाडी मोहना वन संरक्षण क्षेत्रका अध्यक्ष राज बहादुर ऐरले वन संरक्षणमा टेवा पुग्दा सहजै वन्यजन्तुहरु देखा पर्नु राम्रो संकेत भएको बताउनु भयो । बैठकमा लालझाडी मोहना वन ंरक्षण क्षेत्रको नीतिगत, संस्थागत, आर्थिक, सामाजिक,जैविक, वातावरणीय अबस्था, चुनौती र आगामी कार्यदिशा सम्बन्धमा कार्यक्रममा सहभागीहरुले रायसुझाव दिनु भएको छ । विद्यमान ऐन कानुन तथा अबस्था अनुकुल लालझाडी मोहना वन संरक्षण क्षेत्रका कार्ययोजना, संसोधन तथा कार्यक्रम सञ्चालनका लागि आवश्यक पहल गरिने भएको छ । संरक्षण क्षेत्रको प्रभावित सबै स्थानिय तहहरु संग आवश्यक सुझाव संकलन गरी लिपिवद्ध गरी सुझाव कार्यान्वयनका लागि पहल गर्ने बैठकले निर्णय गरेको छ । कार्यक्रमा कृष्णपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष अर्जुन साउदले वन क्षेत्रलाई आय आर्जन संग जोडेर कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो । उहाँले कार्यक्रममा दोहरोपना आउदा कार्यक्रम सञ्चालनमा अप्ठेरो हुने गरेको गुनासो गर्नु भयो ।

शुक्लाफाँटा नगरपालिका ११ का वडा अध्यक्ष शेर बहादुर साउदले वन ऐनका प्रावधानलाई पालना गर्दै संरक्षणका कार्यक्रमलाई अगाडी बढाईनु पर्नेमा जोड दिनु भयो । वडा नं ८ का वडा अध्यक्ष बहादुर सिंह महराले उपभोक्ताको आर्थिक अबस्थामा सुधार नगरिकनै वन संरक्षण कार्यक्रममा टेवा नपुग्ने विचार व्यक्त गर्नु भयो । जनावरको करिडोरको कनेक्टीभिटी जोडनका लागि पहल गरिनु पर्नेमा उहाँको जोड थियो । वडा नं १ का वडा अध्यक्ष उत्तरदेव भट्टले वन संरक्षणका कार्यक्रम सञ्चालन गर्दा स्थानिय तह संग समन्वय गरेर अगाडी बढनु पर्ने बताउनु भयो । उहाँले वनको जैविक विविधता जोगाउनका लागि सबैको सहकार्यको आवश्यकता रहेको औंल्याउनु भयो ।

ताजा समाचार