झलारी : साथी संस्थाले कञ्चनपुरका दुई नगरपालिकाका दुई वडामा परियोजना सञ्चालन गरेको छ । आइतवार झलारीको भ्यू टप होटलमा आयोजना गरिएको परियोजना परिचय कार्यक्रममा सो बारे जानकारी गराईएको हो । परियोजनाका जिल्ला संयोजक उर्मिला शाहीले परियोजना अन्र्तगत कृष्णपुर नगरपालिकाको वडा नं २ र शुक्लाफाँटा नगरपालिकाको वडा नं ११ मा रुढीगत लैंङ्गिक भूमिका तथा हानिकारक परम्परा विरुद्ध समुदायको भूमिका र हिंसा निवारणमा स्थानिय सरकारको स्वामित्व सहित समन्वयात्मक सहकार्य कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनु भयो । परियोजनाको अबधि १ जनवरी २०२४ देखि २१ डिसेम्बर २०२६ सम्म रहेको छ । परियोजनाको वार्षिक बजेट रु ४८ लाख रहेको छ । परियोजनाको मुख्य कार्यमा लैंङ्गिक हिंसा तथा यौनजन्य हिंसा न्यूनिकरण गर्ने, महिला हिंसा विरुद्ध सचेतना छर्ने, रुढिगत लैंङ्गिक अवधारणा विरुद्ध सचेतना,हिंसा प्रभावितलाई जिविकोपार्जन तालिम, आर्थिक सहायता, लैंङ्गिक हिंसा बारे विद्यालय, सामुदायिक वन लगायतमा बैठक छलफल कार्यक्रम आयोजना गर्नु रहेको छ ।

यसैगरी, युवायुवतीलाई हिंसा विरुद्ध सशक्त बनाउने स्थानियतहलाई लैङ्गिक हिंसा बारेको नीति नियम निर्माणमा पैरवीका कार्य संगै हिंसाबाट प्रभावित बालबालिका तथा महिलालाई सेभहाउसमा राख्ने कार्य संगै न्यायीक सहायता उपलव्ध गराउने रहेको छ ।bकार्यक्रममा सुझाव दिनु हुदै शुक्लाफाँटा नगरपालिका ११ का वडा अध्यक्ष शेर बहादुर साउदले रुढीबादी परम्पराका कारण महिलाहरु हिंसामा पर्ने गरेको चर्चा गर्नु हुदै सचेतना कार्यक्रम मार्फत त्यस्ता परम्परालाई रोक्न सकिने बताउनु भयो । उहाँले खुला सीमा नाका कारण लागु औषध प्रयोगकर्ताको सङख्या दिनहु बढदै गैरहेको प्रति चिन्ता व्यक्त गर्दै त्यसकै कारणले अहिले महिला माथि हिंसा बढदो रहेको बताउनु भयो । कृष्णपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष अर्जुन साउदले हिंसामा परेका महिलाहरुलाई सीपमूलक कार्यक्रम संगै आयआर्जनका कार्यक्रम संग जोडनु आवश्यक रहेको बताउनु भयो । उहाँले परियोजना संग हातेमालो गरी अगाडी बढन इच्छुक रहेको उल्लेख गर्नु हुदै साझेदारीमा कार्यक्रम सञ्चालन गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।n“देखिने गरि राम्रो कार्य होस” उहाँले भन्नु भयो, “शून्य महिला हिंसा भएको सुन्न पाउँ ।” कृष्णपुर नगरपालिकाका उप प्रमुख द्रोपती रानाले परियोजनाको दायरा बढाई नगरपालिकाका वडा नं ३,६,८मा महिला सम्बन्धी कुनै संस्थाका पनि कार्यक्रम नभएकाले कार्यक्रम सञ्चालन गर्नका लागि जोड दिनु भयो ।

शुक्लाफाँटा नगरपालिकाका उप प्रमुख कल्पना पन्तले एकल महिला, बालबालिका र शोषणमा परेकाहरुको न्यायका लागि परियोजनाले कार्यक्रम सञ्चालन गर्नेमा ढुक्क रहेको बताउनु भयो । उहाँले परियोजनाले सञ्चालन गर्ने कार्यमा आफनत्वको भावना हुनु पर्ने बताउनु भयो । “लैङ्गिक हिंसामा परेका महिलाहरुको न्यायका लागि परियोजनाले सहयता उपलब्ध गराउनु पर्ने हुन्छ” उहाँले भन्नु भयो, “त्यसका लागि नगरपालिकाबाट हुने सहयोगका लागि तयार छौं ।” नगर प्रमुख रण बहादुर महराले परियोजना कार्यक्रम नगरपालिकाका अन्य वडाहरुमा पनि विस्तार गर्नु पर्ने बताउनु भयो । परियोजनाले सञ्चालन गर्ने कार्यक्रममा लागु औषधका कुराहरुलाई पनि जोडनु पर्ने बताउनु भयो । परियोजनाले सञ्चालन गर्ने कार्यक्रम चुस्त, दुरुस्त र व्यवस्थीत ढंगले अगाडी बढाउनु पर्ने उल्लेख गर्नु भयो । कार्यक्रममा दुवै नगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख, दुवै वडाका कर्मचारी, साथी संस्थाका कर्मचारी र सञ्चारकर्मीको सहभागीता रहेको थियो ।











