राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर : कञ्चनपुरमा हिउदे आगन्तुक जलपंछी गणनाको कार्य सम्पन्न भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा निकुञ्ज बाह्य क्षेत्रका ताल तलैया, सिमसार क्षेत्रमा जलपंछी गणनाको कार्य गरिएको हो । जलपंछी गणनाको कार्यमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पंछी संरक्षण संघ, हिमाली प्रकृति, हिमालयन नेचरगाईड, शुक्लाफाँटा नेचर गाईड एसोसिएसन लगायतका संघ संस्थाका प्रतिनिधिहरु गणका रुपमा रहनु भएको थियो । गणनाको कार्य पुस २१ गते देखि शुरुभै पुस २७ गते सम्पन्न भएको नेपाल पंछी संरक्षण संघका चरा विज्ञ हिरुलाल डगौंराले बताउनु भयो ।

कञ्चनपुरमा जलपंछी गणनाको कार्य सकिए पनि कैलालीका घोडाघोडी लगायतका ताल, सीमसार क्षेत्र संगै बर्दियाका जलाधार क्षेत्रमा पंछी गणनाको कार्य माघ ७ गते सम्म जारी रहने उहाँले बताउनु भयो । उहाँका अनुसार कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदी लगायत र निकुञ्ज बाहिरका पुरैनी, बन्दा लगायतका ताल र जलाधार क्षेत्रमा जलपंछी गणनाको कार्य गरिएको छ । “जलपंछीको सङख्या अरु वर्षको तुलनामा यस वर्ष घट्दो रुपमा पाएका छौं” उहाँले भन्नु भयो, “जलाधार क्षेत्र खुम्चीदै जानु र प्रयाप्त आहाराको कमीले आगन्तुक जलपंछी घटेका छन ।”
जलपंछी गणनामा संलग्न हुने गणकहरुले वाईनाकुलर टेलिस्कोप, जिपिएस सहितको क्यामेराको प्रयोग गरी गणनाको कार्य गरेको चरा विज्ञ डगौंराले बताउनु भयो ।

आगन्तुक जलपंछीको संङख्या, बासस्थान, आहाराको अबस्था बारे कैलाली र बर्दियाको गणना पछि सार्वजनिक गरिने बताईएको छ । यसैविच, शनिवार देखि घोडाघोडी चरा आरक्षमा जलपन्छी गणना सुरु भएको छ । विश्व सिमसार क्षेत्र तथा पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा जलपन्क्षीहरुको गणना सुरु भएको छ । नेपाल पंन्छी संरक्षण सङ्घ, चरा संरक्षण नेटवर्क, पहलमानपुर डिभिजन वन कार्यालयका प्रतिनिधि लगायत स्थानीय संरक्षणकर्मी सहितको टोली यस वर्षको जलपन्क्षी गणनामा खटिएका छन।











