कञ्चनपुर: नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले महासचिव विप्लव सी लगायत नेताहरु माथि अदातलले जारी गरेको पक्राउ पुर्जीको विरोधमा प्रदर्शन गरेको छ । मंगलबार नेकपा कञ्चनपुरले जिल्लाको महेन्द्रनगर बजारमा क्षेत्रमा मसाल जुलुस गर्दै विरोध जनाएको हो । प्रदर्शनकारीले नेकपा महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी लगायत अन्य नेताहरु माथि काठमाण्डौं जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी खारेज हुनुपर्ने र राज्यले नेकपा संग गरेको तीनबुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग राखेको छ ।

नेकपा केन्दीय सदस्य विराट सीले पार्टी संग राज्यले गरेको तीनबुँदे सहमतिको पालना गर्नुपर्ने बताए । उनले भने , “ अनावस्यक रुपमा राज्यले नेकपा माथि दमन गर्न खोजे हाम्रो पार्टी प्रतिरोध गर्न तयार छ । ”तेस्तै नेकपा कञ्चनपुर जिल्ला सचिव प्रकाश सीले राज्यले एकातिर सहमति गर्ने र अर्कोतिर राज्यकै निकाय अदालतले नेताहरु प्रति पक्राउ पुर्जी जारी गर्नुले देशलाई अशान्ति तिर धक्ल्ने षड्यन्त्र भइरहेको बताए । पक्राउ पुर्जी खारेज गरी राज्यले तीनबुँदे सहमति कार्यान्वयन नगरे आन्दोलन चर्कने उनको भनाइ छ । नेकपा कार्यकर्ताले झूटा मुद्दा खारेज गर, पक्राउ पुर्जी खारेज गर, तीनबुँदे सहमति लागू गर, जस्ता नारा लगाई महेन्द्रनगर बजार क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा नेकपाका आन्दोलनकारी माथि प्रहरीले दमन गरेको छ । साथै प्रहरी र नेकपा कार्यकर्ता बीच हातहालाहाल नै भएको थियो । प्रहरीले महिला माथि दुर्व्यवहार गरेको समेत नेकपा बताएको छ । सोमवार जिल्ला अदातल काठमाडौंले महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड सहितका नेताहरुलाई पक्राउ पूर्जी सहितको गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो । सोही विरोधमा नेकपाले तीनदिने विरोधमा कार्यक्रम आज घोषणा गरेको हो ।

