सुदूरपश्चिममा दश महिनाको अबधिमा डेंगुबाट एक हजार बढी संक्रमित

राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा डेंगु(डेंगी) रोगको संक्रमणबाट दश महिनाको अबधिमा एक हजार बढी व्यक्ति संक्रमित भएका छन । जनवरी देखि अक्टुवर महिना सम्म प्रदेशमा एक हजार तीन सय तीन जनामा डेंगुको संक्रमण देखा परेको हो ।   सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सबै भन्दा बढी कैलाली जिल्लामा छ सय ४० जनामा डेंगुको संक्रमण देखा परेको छ । जुन दशकै टप टेन डेंगु संक्रमण हुने जिल्ला मध्ये नवौं स्थानमा रहेको छ ।

कैलालीमा सबै भन्दा बढी अगष्टमा एक सय ६९, सेप्टेम्बरमा दुई सय ३४ र अक्टुवरमा दुई सय ११ जनामा डेंगुकोे संक्रमण देखा परेको छ ।  जुलाईमा १६ जनामा र अन्य महिनामा एक दुई जनामा फाट्टफुट्ट रुपमा डेंगुको संक्रमण देखा परेको निरीक्षक जोशीको भनाई रहेको छ ।  यसैगरी, कञ्चनपुरमा दुई सय ७६, दार्चुलामा एक सय ९८, बाजुरामा ६९, अछाममा ५६, बैतडीमा २२, डोटीमा १९, बझाङमा १३, डडेल्धुरामा १० जनामा डेंगुको संक्रमण देखा परेको छ ।   दार्चुलामा सबै भन्दा बढी मे महिनामा एक सय ७७ जनामा र कञ्चनपुरमा जुलाईमा २३, अगष्टमा ५८, सेप्टेम्बरमा ६१ र अक्टुवरमा एक सय जनामा डेंगुको संक्रमण भएको पाईएको छ । अन्य जिल्लामा महिनामा एक जना देखि १५ जना सम्ममा डेंगुको संक्रमण भएको बताईएको छ ।

“डेंगुबाट संक्रमित भएका अधिकांस व्यक्तिहरु स्वास्थ्य चौकी, अस्पतालमा उपचार पश्चात घर फर्कि सकेका छन” निरीक्षक जोशीले भन्नु भयो, “थोरै डेंगुबाट संक्रमितको मात्रै अस्पतालमा उपचार भैरहेको छ ।”  उहाँका अनुसार देशभरीमा हाल सम्म ४२ हजार चार सय ११ जनामा डेंगुको संक्रमण देखा परेकोमा जस मध्ये २० जनाको मृत्यु भएको छ । डेंगुबाट देशका ७६ जिल्ला प्रभावित भएका छन । सबै भन्दा बढी डेंगुबाट प्रभावित भएका जिल्ला मध्ये सुनसरीमा १६ हजार एक सय पाँच, तनहँुमा छ हजार एक सय १६, झापामा तीन हजार छ सय ७७, धादिङमा तीन हजार एक सय ९३, मोरङमा दुई हजार दुई सय ९०, कास्कीमा दुई हजार दुई सय ७०, काठमाण्डौैमा नौ सय ९० मा डेंगुको संक्रमण देखा परेको छ । यसैगरी,  गोरखामा छ सय ६२, कैलालीमा छ सय ४० र धनकुटामा छ सय चार जनामा डेंगुको संक्रमण देखिएको छ । एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग सर्ने गर्दछ ।

थोरै मात्र पानी भएको भाँडोमा यस प्रजातीको लामखुट्टेले फुल पार्ने कार्य संगै यसको बृद्धि विकास हुने गर्दछ । डेंगु रोग लागेमा उच्च ज्वरो आउने, जोर्नी र मांसपेशीहरु दुख्ने,बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरिरमा राता विमिराहरु आउने, वाकवाकी लाग्ने बान्तु हुने लगायतका लक्षणहरु देखा पर्ने गर्दछन ।  डेंगुबाट बच्नका लागि एजिड जातको लामखुट्टेले दिउसोको पख्(साँझ र विहान) टोक्ने भएकाले सचेत रहने, पानी जमेका भाँडाकुडाको पानी फाल्ने, घरवरीपरी, सार्वजनिक स्थल लगायतमा पानी जम्मा हुन नदिने, घरको झयालमा जाली राख्ने, पुरा शरिर ढाकीने लुगा लगाउने, लामखुट्टे भगाउने धुप र मलमको प्रयोग गर्ने, सुत्दा झुलको प्रयोग गर्नु पर्दछ ।

ताजा समाचार