दोधारा । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले महाकाली पारीको दोधारा चादँनी नगरपालिकामा जोगबुढा नदी कटान नियन्त्रण पाँच वर्षमा गर्न नसके अर्को पटक भोट माग्न नआउने बताएका छन् । कञ्चनपुर – ३ बाट बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लेखकले आइतबार दोधारा चादँनी नगरपालिका – १० मा आयोजित चुनावी कार्यक्रममा आगामी पाँच वर्षभित्र स्थानीय जोगबुढा नदीबाट बस्ती जोखिममा पर्न नदिने प्रतिवद्धता व्यक्त गरे ।

‘हामीलाई जिताएर पठाउनुस्, यहाँको नदी कटानको समस्या बाँध बाँधेर जोगाउन सकिएन भने अर्को भोट भोट माग्नै आउँदैन,’ लेखकले भने, ‘यहाँको नदी कटान नियन्त्रणका लागि प्रतिवद्धता व्यक्त गर्दछु ।’ आफ्नो पहलमा दोधारा चाँदनीलाई महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरेर मूलधारसित जोड्ने काम भएको लेखकले बताए । आफ्नो पहलमा यहाँ चार लेनको पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

‘सुख्खा बन्दरगाहका लागि अहिलेकै सरकारले बजेट नियोजन गरेर यसै वर्षबाट काम अघि बढ्छ,’ उनले भने, ‘दोधारा चादँनीका हरेक सडक कालोपत्रेदेखि नदी नालामा पुलहरू मै भौतिक पुर्वाधार मन्त्री हुँदा बजेट आएर बनेको अवगत नै छ ।’







