दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिंहले दोधारा चाँदनी नगरपालिकाको तिन ठाँउमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । उनले आज दोधारा चाँदनी नगरपालिकाको वडा नं. ४, ५ र ६ वडामा निर्वाचन सम्पर्क कार्यालय खोलेका हुन् । यस अघि कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने भिमदत्त नगरपालिकाको बिभिन्न वडाहरुमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । सम्पर्क कार्यालय स्थापना संगै उनले दोधारा चाँदनी नगरपालिकाका घरदैलो कार्यक्रम समेत गरेका छन् ।


प्रचारकै क्रममा उनी सबै क्षेत्रका ब्यक्तिबाट सुझाव समेत संकलन गरिरहेका छन् । सम्पर्क कार्यालय स्थापना संगै दोधारा चाँदनी नगरपालिकामा घरदैलो कार्यक्रमलाई तिब्रता दिने बताएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ हेल्थपोष्टमा आफ्नो सम्पर्क कार्यालय स्थापना गर्ने क्रममा राजनीतिलाई सेवा बनाउनु पर्ने उनको भनाई छ् । ‘राजनीति पेसा होइन्, सेवा हो, एक पटक जितेका व्यक्तिका लागि ५ वर्षको कार्यकाल प्रयाप्त हो,’ उनले भने । एउटै व्यक्ति पटक पटक सांसद हुने तर जनताका लागि केही काम नगर्ने प्रबृति अन्त हुनुपर्ने सिंहले बताए ।


शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो विकास र उत्पादनमुखी उद्योग स्थापनालाई उनले प्रमुख एजेण्डा बनाएका छन् । ‘शिक्षा र स्वास्थ्यमा सबै नागरिकको सहज पहुच हुनुपर्छ, निशुल्क गरिनुपर्छ,’ उनले भने, ‘युवालाई रोजगारी दिनका लागि उत्पादनमुखी उद्योगमा हामी जोड दिन्छौं।’







