शुक्लाफाँटा: स्थानीय तहको निर्वाचनको मतदान गर्ने दिन नजिकिदै गर्दा शिक्षित मतदाता, नयाँ र युवा उमेदवारहरु उत्साही छन् । अघिल्ला निर्वाचनहरुमा भन्दा यस बर्षको निर्वाचनमा राजनितीक दल र उमेदवारको तडकभडक र भिडभाड भन्दा राम्रा र योग्य उमेदवारको चर्चा र खोजी गर्ने छलफल मतदाताहरुमा रहेको छ । सार्वजनीक स्थल र घर–घरमा मतदाताहरु सक्षम र योग्य उमेदवारको पक्षमा छलफल गर्न थालेका छन् । शुक्लाफाँटा नगरपालिका ८ का विरेन्द्र धामी भन्छन, ‘एउटा पार्टीको कार्यकर्ता त हु तर पार्टीले आफ्नौ वडा र नगरको नेतृत्व गर्ने मान्छे राम्रो र योग्य नभए पछि पार्टी भन्दा माथी उठेर योग्य र सक्षम उमेदवार छान्छु ।’

अघिल्ला निर्वाचन भन्दा यस वर्ष शिक्षीत र युवा उमेदवारहरु भने मतदाताहरुमा देखीएको परिवर्तन र सचेतनाले उत्साहीत छन् । वडा नं. १२ का जितेन्द्र रानाको भनाई पनि उस्तै छ । रानाका अनुसार नगरपालिकाको, वडाको नेतृत्व गर्ने व्याक्ति शिक्षित, युवा र योग्य व्याक्ति हुनुपर्ने तर्क गर्छन् । ‘हाम्रो घरमा सबै दल र स्वतन्त्रका उमेदवारहरु आफ्ना पक्षमा भोट माग्न आएका छन् तर घरमा सबैको सल्लाह भएको छ । योग्य र सक्षम व्याक्तीहरुलाई मात्र भोट दिन्छौ ।’ पार्टी कार्यकर्ताहरुमा समेत स्थानीय वडा र पालिकाहरुमा पार्टी भन्दा माथी उठेर सक्षम उमेदवार छनोट गरि मतदान गर्ने तर्क गर्छन ।

मतदाताहरुमा खुलेरै राम्रा र योग्य उमेदवारबारे चर्चा हुन नसके पनी साथी भाई, परिवार र अफ्न्तहरु बिच भने खुलेरै बहस र चर्चा हुन थालेको छ । खुलेर उमेदवारका बारे चर्चा गर्दा आफ्नो नजिकैका आफ्न्त तथा साथीभाई नै हुने भएकाले बादविवाद राम्रो नहुने जितेन्द्र रानाको भनाई छ । उमेदवारहरुको योग्यता र क्षमताको मतदाताहरुमा चासो बढन थाले पछि नयाँ उमेदवार र शिक्षित युवाहरुमा आफ्नो पक्षमा मत आउने विश्वास गरेका छन् ।







