महेन्द्रनगर : नगर स्तरीय दलित भूमि अधिकार यूनियन अमरगढीले भूमि आयोग डडेल्धुरालाई विभिन्न ९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । दलित भूमि अधिकार युनियन अमरगढीका अध्यक्ष किरण जैरूले नगरप्रमुख विशेश्वरप्रसाद ओझा मार्फत् उक्त ज्ञापनपत्र भूमि आयोगलाई बुझाएका हुन् ।
जिल्ला स्तरमा गठन गरिने जिल्ला भूमि आयोग र स्थानीयस्तरमा गठन गरिने भूमि वितरण सहजीकरणमा दलितहरूको सामानुपातिक सहभागिता सुनिश्चित गरिनुपर्ने, स्थानीयतहरूको माध्यमद्वारा आफ्नो स्थानीय तहमा दलित भूमिहीन र सुकुम्बासीलगायत अझैं पनि दास प्रथाको अवशेषका रूपमा रहेका मुक्त हलियाहरूको अलग पहिचानका साथ लगत संकलन र अद्यावधिकगर्ने काम छिटो सम्पन्न गर्नुपर्ने माग दलित भूमि अधिकार युनियनको छ । भूमिहीनहरूलाई राज्यकातर्फबाट वितरण गरिने भूमिका सन्दर्भमा दलित भूमिहीन र कृषि बधुवा मजदुर तथा मुक्तहलियाहरुलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग आफूहरूको रहेको अध्यक्ष जैरूले बताएका छन् ।






