सडक दुर्घटनालाई न्यूनीकरण गर्न पुनर्वासमा अटो चालकहरुलाई प्रशिक्षण

पुनर्वास: आईतबार पुनर्वासका सडकमा सञ्चालित हुँदै आएका अटो चालकहरूलाई प्रहरीले प्रशिक्षण दिएको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र अस्थायी ट्राफिक पोष्ट त्रिभुवनबस्तीको संयुक्त आयोजनामा बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न अटो चालकहरुलाई प्रशिक्षण दिईएको हो । पुनर्वास नगरपालिका-६ को वडा कार्यालयको सभाहलमा भएको प्रशिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता डिएसपी चक्रबहादुर शाह र जिल्ला ट्राफिक प्रहरी कार्यालय कंचनपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टको आतिथ्यता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले अटोले थुप्रै व्यक्तिहरुलाई खाडी मुलुक जानबाट रोक्दै स्वदेशमै रोजगारी सिर्जना गराउदै आएको बताउनुभयो। ” ऎन,नियम र नियमावली जुनसुकै देशमा पनि हुन्छ, यसको पालना गर्न सके बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ ।” उहाँले भन्नुभयो ” सडकमा अटो लैजादा लाईसेन्स,ब्लुबुक अनिवार्य बोक्नु होला । उहाँले अटो व्यासायलाई व्यवस्थित बनाउन सके आफ्नो घरपरिवार र बालबच्चाहरुको समेत निगरानी हुने बताउनुभयो । त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय कंचनपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक भट्टले विश्वमा सबैभन्दा बढी मृत्युको कारण नै सडक दुर्घटना रहेको बताउनुभयो ।

उहाँले अटो चलाउदा मादक पदार्थ सेवन नगर्न र कम स्पिडमा चलाउन चालकहरुलाई अनुरोध गर्नुभएको थियो । पुनर्वासका सडकमा हाल करिब १ सय ५० तीन पाङ्ग्रे अटो गुड्ने गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिनुभयो । सयौं अटो चालकहरुको उपस्थिति रहेको प्रशिक्षण कार्यक्रमलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले सहजीकरण गर्नुभएको थियो ।

ताजा समाचार