कञ्चनपुरमा प्रशासनद्वारा थप कडाइ, यस्ता छन नयाँ नियमहरु


महेन्द्रनगर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढिरहेको अवस्थालाई मध्यनजर गरी थप कडाइ गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको संयोजकत्वमा आइतबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले आइतबार राती १२ बजेदेखि अर्को आदेश जारी नभए सम्मका लागि अत्यावश्यक कामकाज बाहेक नेपाल–भारत आवागमनमा रोक लगाउने निर्णय गरेको छ । अत्यावश्यक कामले आवागमन गर्नैपर्ने भए सो सँग सम्बन्धित आवश्यक कागजात र कोभिड विरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनु पर्ने बताइएको छ ।

यस्तै विवाह, व्रतबन्ध जस्ता कार्य गर्दा २५ जना भन्दा कम व्यक्तिहरूको सहभागिता रहने गरी गर्न पाइने र नित्य धार्मिक पूजा प्रार्थना बाहेकका अन्य धार्मिक भेला तथा कार्यक्रमहरु गर्न नपाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कञ्चनपुरका ९ वटै पालिकाहरूमा सरकारी निकाय, स्थानीय तह, गैर सरकारी निकाय, सङ्घसंस्था, पत्रकार महासङ्घ लगायतका सरोकारवाला सबै संघसंस्थाहरूको सहकार्य र समन्वयमा अभियानका रूपमा कोरोना सम्बन्धी जनचेतना मूलक कार्यक्रम र मास्क अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै एम्बुलेन्स सेवा प्रदायक संस्थाहरूलाई आफूले सञ्चालनमा ल्याएका एम्बुलेन्सहरूमा अनिवार्य रूपमा जिपिएस राख्न लगाउने निर्णय पनि गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका निर्णय सबै सुरक्षा निकाय लगायत सरोकारवाला निकायहरू र सङ्घसंस्थाहरू समन्वयात्मक रूपमा परिचालन भई कार्यान्वयन गर्ने समेत निर्णय भएको बताइएको छ ।


ताजा समाचार

spot_img