ऐश्वर्या कुँवर / कञ्चनपुर : गत पुष २९ गते बिहान १२देखि १ बजेको समयमा कञ्चनपुरको भीमदत्त नगरपालिका १० सुकासाल क्षेत्रमा ५० बर्षिया गणेश दमाई घरसायी कामका लागि सुकासाल बजारतिर आईरहेका थिए । उनलाई एक जिपले ठक्कर दिएर घाईते भएका छन । घाईते दमाई परिवारका अनुसार उक्त जिप कृषि विकास बैंक लिमिटेड महेन्द्रनगरको थियो । कृषि विकास बैंक महेन्द्रनगर शाखाको बा८च ३०८४नम्बरको जिपले ठक्कर दिएको दमाईका छोरा शनिल दमाईले बताए । ‘बाबालाई कृषि विकास बैंकले ठक्कर दिएर भाग्यो, ‘उनले भने, ‘अहिलेसम्म उपचार समेत गरेको छैन ।’ प्रहरी कहाँ जाँदा समेत आफुहरु दलित गरिबलाई थर्काएर पठाउने गरेको उनको गुनासो छ । ‘मेरा बाबुलाई सरकारी बैंककै जिपले ठक्कर दिएर मर्नु न बाँच्नु बनाएको छ, ‘उनले भने, ‘न्यायका लागि प्रहरी कहाँ जाँदा उल्टै हप्काएर पठाँउछन, के गरिबले न्याय नपाउने त ।’ बैतडी घर भएका दमाई परिवार सुकासालमा भाडामा बस्दै आएका छन ।

आर्थिक रुपमा अति विपन्न र त्यसमा पनि दलित भएकै कारण सरकारी निकायबाट न्यायका लागि आलटाल भईरहेको उनको दुखेसो छ । घटनाकी प्रत्यक्षदर्शी घाईते दमाईकी छोरी लक्ष्मी दमाईले बाबालाई जिपले ठक्कर दिएर भागेको बताईन । ‘बाबालाई ठक्कर दियो, जिपले भाग्यो, रोकेन, ‘उनले भनिन, ‘गरिब हिडदा हिडदै मर्ने भए ।’ दमाई परिवारले आफुहरु गरिब दलित भएका कारण उपल्ला धनी दलितहरुले समेत न्यायका लागि पहल समेत नगरिदिएको गुनासो गरेका छन । ठुलाबडा सरकारी गाडीले ठक्कार दिएर घाईते हुँदा समेत प्रहरीले उजुरी समेत लिन नमानेको बताउनै उनले घटनाको छानबिन गरेर दोषि उपर कार्बाहीको माग राखे । कृषि विकास बैंक शाखा महेन्द्रनगरको उक्त गाडी घुम्न वा अन्य सरकारी कामकाजका लागि गएकोमा समेत आशंकका व्यक्त गरिएको छ । कार्यालय प्रमुख सरोज कुमार महर्जन सहितका कर्मचारी कार्यालयै कामकाजका लागि बाहिर गएको बैंकले जनाएको छ ।

कृषि विकास बैंक शाखा कार्यालय महेन्द्रनगरका अधिकृत डिकरदेव पाण्डेले उक्त दिन आफुहरु सोही सडक भएर कार्यालयकै कामकाजका लागि गएको बताए । ‘हामीहरु त्यो दिन त्यहाँ गएका पक्कै हौँ, ‘उनले भने, ‘तर हामीपनि जिपभित्रै थिए, ठक्कर दिएको देखेन, चालकलाई पनि हामीहरुले भन्यौँ तर कहिकतैबाट आफुहरु चढेको गाडीले ठक्कर दिएन ।’ घटना बारे आफुहरुले पूर्ण सहयोग गरेको बताउदै उनले आफुहरुले घटना भएको थाहै नपाएको बताए । ‘यदी हाम्रो गाडीले ठक्कर दिएको भए, हामीले पनि थाहा पाउनुपर्ने हो, ‘उनले भने, ‘हामीले थाहा पाएनौँ, थाहा पाएको भए ति घाईतेलाई हामीहरुले नै अस्पताल ल्याउने दायित्व हुन्छ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम सिह चौधरीले उक्त घटना बारे अनुसन्धान भईरहेको बताए ।







