कञ्चनपुरमा आज शुक्रवारदेखि सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य


महेन्द्रनगर : कञ्चनपुरमा कोरोना सङ्क्रमण बढ्दै गएपछि माघ ७ गते (आज) देखि सार्वजनिक स्थानमा प्रवेश गर्दा, सार्वजनिक यातायात र सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड साथमा राख्नुपर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सिफारिस गरे अनुसार प्रशासनले सार्वजनिक यातायात र स्थानमा खोपकार्ड अनिवार्य गरेको हो । कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका संख्या २ लाख माथी पुगेको छ । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिड सिल्ड र स्ट्राजेनेकाको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको सङ्ख्या एक लाख ३२ हजार ३९ रहेको छ ।

जोन्सन एन्ड जोन्सन खोप लगाउनेको सङ्ख्या २७ हजार ४०० छ । खोप कार्ड हराएकाहरुलाई प्रतिलिपि बनाउन अनुरोध गरिएको छ भने खोप लगाउन बाँकी नागरिकलाई सम्पर्कमा आउन अनुरोध गरिएको छ । प्रशासनको आदेश अनुसार सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला भएर कुनै किसिमका कार्यक्रम गर्न पाइने छैन् । घर बाहिर निस्किदा र सार्वजनिक स्थानमा प्रवेश गर्दा अनिवार्य मास्कको प्रयोग गर्ने र जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने छ । विवाह, ब्रतबन्ध, मृत्यु संस्कारजस्ता सामाजिक कार्य गर्दा २५ जना भन्दा बढी भेला हुन नपाइने भएको छ । सीमा क्षेत्रमा आवतजावत गर्दा खोप कार्ड र एन्टिजेन परीक्षण अनिवार्य गरिएको छ । माघ १५ गतेसम्मका लागि विद्यालयहरु बन्द गरिएको छ ।


ताजा समाचार

spot_img