एफसी चितवनलाई हराउँदै धनगढी एफसी काठमाडौंमा जारी नेपालको पहिलो फेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ ।

अंकतालिकाको शीर्ष स्थानमा उक्लिने क्रममा धनगढीले शनिबार दिनको पहिलो खेलमा चितवनमाथि ३-० गोल अन्तरले जित आत्मसाथ गर्यो । टिमले सहज जित हासिल गर्ने क्रममा धनगढीका निशान लिम्बू, ओलावाले आफिज र बुद्धबल तामाङले गोल गरेका थिए ।पहिलो हाफ गोलरहित सकिएको खेलमा धनगढीका निशान लिम्बूले खेलको ६४ औं मिनेटमा गोल गर्दै खेलमा टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि विदेशी खेलाडी ओलावाले आफिजले खेलको ६९ औं मिनेटमा गोल गर्दै टिमको अग्रतालाई दोब्बर गरे । र ८० औं मिनेटमा धनगढीका बुद्धबलले टिमका लागि तेस्रो गोल गरे । यो सँगै शीर्ष स्थानमा रहेको धनगढीले ४ खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको बुटवलको २ खेलबाट ४ अंक रहँदा ३ खेलबाट ४ अंक जोडेको पोखरा थन्डर्स तेस्रो स्थानमा छ। चितवन भने ३ खेलबाट २ अंक जोड्दै अंकतालिकाको छैठौं स्थानमा छ।







