सुदूरपश्चिम विश्वविद्यालयमा खेलकुद सप्ताह आयोजना हुदै

खेलकुद सप्ताहलाई विगतभन्दा मर्यादीत र व्यवस्थीत बनाउँदैछौँ ः खेलकुद शाखा प्रमुख शंकर पुजारा

कञ्चनपुर
सुदूरपश्चिम विश्व विद्यालयमा नियमित पठनपाठन सुरुवात भएसँगै खेलकुद सप्ताह आयोजन हुने भएको छ । विश्व विद्यालयअन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद शाखाको आयोजनामा फाल्गुन ११ देखि केन्द्रीय क्याम्पसको प्राङगणमा खेलकुद सप्ताहको सुभारम्भ हुने भएको हो । उक्त खेलकुद सप्ताहमा केन्द्रीय क्याम्पस अन्तर्गतका ६ वटा विभागीय विद्यार्थी खेलाडीहरु बीच विभिन्न खेल प्रतियोगीताहरुमा प्रतिस्पर्धा गराईने भएको छ । विद्यार्थीहरुको खेल प्रतिको मोह र खेलकुदले विद्यार्थीहरुलाई अनुसाशित र व्याक्तित्व निर्माण गर्ने उद्देश्य राखी शाखाले वार्षिक रुपमा खेलकुद सप्ताह आयोजना गर्दै आएतापनि कोभिडका कारण सम्पूर्ण शैक्षिक गतिविधिसँगै अन्य कार्यक्रम ठप्प भएका थिए ।

खेलकुद शाखाले विभागहरुलाई खेलाडीहरु छनौट र सहभागिताका लागि पत्राचारसमेत गरिसकेको छ । उक्त खेल कार्यक्रमका लागि प्रत्येक विभागबाट खेलाडी छनौटका खेल फाल्गुन ९ र १० गते हुने भएको छ । प्रत्येक खेल विधाका खेलाडीहरुको छनौट खेल गराई अन्तिम नामवाली ११ गते बुझाईसक्नुपर्ने खेलकुद शाखाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि गरिएको उक्त खेलकुद सप्ताहमा विभिन्न विधामा विद्यार्थीहरुले आफ्नो क्षमता प्रदर्शनको अवसर प्राप्त गर्ने र विश्व विद्यालयको गरिमा एवं पहिचानलाई अभिबृद्धि गर्ने बताउँदै खेलकुद शाखा प्रमुख शंकर पुजाराले विगतका अनुभवका आधारमा खेलकुदलाई व्यवस्थीत,मर्यादीत र सभ्य, शिष्ट रुपमा सम्पन्न गर्न सबै पक्षको साथ सहयोग रहने विश्वास व्यक्त गरे ।

उक्त खेलकुद सप्ताहका लागि खेलकुद सञ्चालन कार्यतालिका समेत सार्वजनिक गरिएको छ । खेलकार्यतालिका अनुसार भलिबल महिला/पुरुष, फुटबल/क्रिकेट पुरुष, ब्याटमिन्टेन,शर्ट पुट, छोटो दौड महिला/पुरुष , निबन्ध लेखन, हाजिरी जवाफ र वक्तित्व कला गरी विधाहरुमा छ वटै विभागीय टोलीहरुबीच प्रतिस्पर्धा गराईनेछ । खेलकुद सप्ताहको आयोजना हुने भएपछि खेलाडी विद्यार्थीहरुमा रौनकता छाएको छ । विश्व विद्यालय जस्तो गरिमामय प्राज्ञिक क्षेत्रमा यस्ता अतिरिक्त गतिविधिहरु समय समय भैरहनु पर्नेमा विद्यार्थीहरुले जोड दिएका छन् । विश्व विद्यालय खेलकुद शाखा प्रमुख शंकर पुजाराले विद्यार्थीहरुको बृद्धि र विकासका लागि निरन्तर लागि परेको र उक्त प्रयासमा शिक्षक विद्यार्थी लगायत सम्पूर्ण खेलप्रेमी शिक्षाप्रेमी महानुभावहरुको साथ सहयोग निरन्तर आवश्यक पर्ने बताए ।

 

ताजा समाचार