नेपालले दोस्रो खेलमा बराबरी, सिरिज बंगलादेशको पोल्टोमा

कञ्चनपुर ,
 नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बरारबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा गोलरहित बराबरीमा सकिएको हो ।
दोस्रो खेलमा नेपालले बरारबरी खेलेपनि मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको ट्रफी भने बंगलादेशले जितेको छ ।सिरिजको पहिलो खेलमा शुक्रबार नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको थियो ।आजको खेलमा बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गर्न सकेको खण्डमा मात्र नेपाल उपाधि जित्ने सम्भावना थियो । तर, खेलाडीहरुले गोल गर्न भने सकेनन् । अनुभवी खेलाडी भरत खवासलाई टिमको कप्तानी दिएपनि उनी खेलको १९ औं मिनेटमा नवयुग श्रेष्ठसँग सब्स्टीच्युट भए । खवास मैदानबाट बाहिरिएपछि कप्तानी गोलरक्षक किरण कुमार चेमजोङले गरिरहेका थिए।
दोस्रो खेलमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले सुरुवाती ११ मा केही परिवर्तन गरेका हुन। जसमा रक्षापंक्तिमा पहिलो खेलमा सुरुवाती ११ मा परेका अजित भण्डारी र सुमन अर्यालको स्थानमा छिरिङ गुरुङ र रञ्जित धिमाल मैदानमा उतारिएको थियो। मिडफिल्डमा अनुभवी खेलाडी विक्रम लामाको स्थानमा पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु पाएका एरिक बिष्ट सुरुवाती ११ मा परे ।फरवार्डमा भरत खवास र दर्शन गुरुङले सम्हालेका थिए तर, खेलको १९ औं मिनेटमा भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान छिरे ।आजको खेलमा शेसेहाङ आङ्दाम्बे र पुजन नगरकोटीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । उनीहरु दुवै खेलाडी सब्स्टीच्युटका रुपमा मैदान प्रवेश गर्ने मौका पाएका हुन।
यसैबीच नेपाल र बंगलादेशबीचको खेल हेर्न रंगशाला पुगेका एक दर्शक मैदान छिरेपछि केही समय खेल अवरुद्ध हुनपुगेको थियो ।उनी मैदानमा बंगलादेशका कप्तान जमल बुयानको सेल्फीका लागि पुगेका र जसमा उनले सेल्फी समेत लिए तर, अफिसियल र सुरक्षा गार्ड आएर उनलाई मैदानबाट बाहिर निकालेका थिए ।

ताजा समाचार