पुनर्वासमा भारतीय नक्कली नोटको बिगबिगी ,सचेत रहन प्रहरीको आग्रह

पुनर्वास 

कंचनपुरको पुनर्वासमा केहि दिन यता भारतीय नक्कली नोटहरुको बिगबिगी देखिएको छ । भारतीय सिमा संग जोडिएको यस क्षेत्रमा अवैध मालसामान ,लागुऔषध र मानव तस्करी मात्र नभई भारतीय नक्कली नोटको पनि केहि दिन यता बिगबिगी देखिएको हो । पुनर्वासको आई.बी.आर.डी.का केहि पसलहरुमा भारतीय पाँच सयका नक्कली नोट दिदै सामान खरिद गरि फरार हुने गरेको केहि व्यवसायीहरुले बताएका छन् । एक दिन एक जना अपरिचित व्यक्ति मास्क लगाएर कार्तिक २० गते राती साढे ९ बजे ओम बुद्ध ट्रेडर्समा मदिरा किन्न आए ।

उनले भारतीय पाँच हजार पाँच सयको मदिरा खरिद गरेर साउजीलाई भारतीय पाँच सयका नक्कली एघार नोट दिदै पाँच बोत्तल मदिरा लगे । दोस्रो दिन पसले भारतीय नोट एक हार्डवेयर पसलमा सटही गर्न गए तर तिनी नोटहरू नक्कली भएको अर्का साउजीले मदिरा पसलेलाई बताए । नक्कली भन्ने थाहा पाएपछि ओम बुद्ध ट्रेडर्सका सञ्चालक सुरज लामा अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी.उजुरी गर्न नोट सहित निवेदन लगेर पुगे । त्यस्तै त्यहि व्यक्तिले केहि दिन अघि पौडेल किराना पसलबाट एक हजार भारतीय रुपैयाँ दिएर १६ ओटा रिचार्जकार्ड लिएको पसल सञ्चालक सुजित पौडेलले बताए । उनले पनि नक्कली नोट सहित ईलाका प्रहरी कार्यालयमा उक्त व्यक्तिको खोजीका लागि निवेदन दिएका छन र एउटा फेन्सी पसलमा पनि पच्चीस सय भारतीय रकमको कपडा खरिद गरि ठगि गरिएको खुल्न आएको छ ।

यस्ता नक्कली नोटहरुको उजुरी पर्न थालेपछि अहिले ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले उद्योग वाणिज्य संघ र बजार समितिहरुलाई पत्र जारी गर्दै सबै व्यवसायीहरुलाई सचेत रहन आग्रह गरेका छन । प्रहरीले अहिले नक्कली नोटको कारोबार गर्ने व्यक्तिहरुको खोजी गरिरहेको जानकारी दिए । प्रहरी निरीक्षक बिष्टले यदि भारतीय नोट ल्याएर आएको व्यक्ति माथी संका लागेमा तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध गर्दै सबै व्यक्तिहरुलाई सचेत रहन आग्रह पनि गरेका छन् ।

ताजा समाचार