पशुपंछी प्रतिको निर्दयी व्यवहार आजैबाट त्यागौं

कञ्चनपुर 

घरपालुवा जनावरलाई सन्तानझै माया गरे मात्रै समाज हिंसा रहित हुन सक्ने विश्व पशुपंछी दिवशका आवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले बताउनु भएको छ । पशुपन्छी प्रति उचित सम्मान मानव सभ्यताको पहिचान भन्ने नारा सहित शुक्लाफाँटा नगरपालिका ९ सिसैया स्थित छाडा चौपाया व्यवस्थापन केन्द्रमा आइतवार आयोजित कार्यक्रमका सहभागीहरुले पशुपंछी प्रतिको क्रुर व्यवहारलाई त्याग्न सके मात्रै विश्वमा देशको इज्जत जोगिने बताउनु भएको छ । कार्यक्रममा बोल्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा पान सिंह ठगुन्नाले पशुपन्छीलाई विदेशीहरुले छोरा छोरीझै व्यवहार गरी पाल्ने गरेको चर्चा गर्दै पशुपंछी प्रतिको निर्दयी व्यवहार त्याग्न सके मात्रै समाजलाई असल मार्गमा डोरयाउन सकिने बताउनु भयो ।

सडक तथा बजार क्षेत्रमा घाईते अबस्थाका जनावरहरु देख्दा समेत हामी नदेखेझै गरी हिडछौं उहाँले भन्नु भयो, “घुमफिरका लागि आएका विदेशीहरुले घाइते पशुपंछी देखेपछि उद्धार गरी भेटेरिनरी अस्पतालमा पुरयाई आफनै खर्चमा निको नहुन्जेल सम्मका लागि उपचार गर्छन ।निको भएपछि सम्बन्धित क्षेत्रमा लगेर छाडने गरेका छन ।” विदेशीहरुको सिको गरेर सोचमा परिवर्तन ल्याउन आवश्यक रहेको उहाँले बताउनु भयो । पशुपंछीहरुले स्वतन्त्र रुपमा घुमफिर गर्न पाउनु पर्ने, बिरामी हुदा उपचार पाउनु पर्ने, बानी व्यहोरा व्यवहार देखाउ पाउनु पर्ने, शुरक्षित बासस्थानमा बस्न पाउनु पर्ने, बाच्न पाउनु पर्ने लगायतका पाँच वटा अधिकार शुरक्षित रहेको उहाँले उल्लेख गर्नु भयो । सडक क्षेत्रमा रहेका छाडाचौपाया व्यवस्थापन गरी पशु अधिकार सुनिश्चित गरिनु पर्ने उहाँले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश पशुपंछी तथा मत्यस्य विकास निर्देशनालयका निर्देशक डा मदन सिंह धामीले जनावरको अधिकारमा नेपाल निकै पछाडी चर्चा गर्दै बलि प्रथाका कारण विदेशमा वदनाम रहेको बताउनु भयो । पशुपंछी प्रति निर्दयी व्यवहार गर्ने व्यक्तिलाई विद्यमान कानुन अनुसार तीन महिना कैद तथा पाँच हजार जरिवानाको व्यवस्था रहेको उल्लेख गर्नु हुदै उहाँले पशु कल्याण सम्बन्धी ऐन संसदमा विचाराधिन अबस्थामा रहेकाले अझै कडा प्रावधान आउन लागेको बताउनु भयो ।

व्यक्ति व्यक्तिलाई पशु अधिकारका बारेमा सचेत नपार्दा सम्म पशु प्रतिको व्यवहारमा परिवर्तन आउन नसक्ने उहाँले बताउनु भयो । छाडा चौपायाको नश्ल सुधार गरी दुग्ध उत्पादनलाई बढावा दिनका लागि प्रदेश सरकारले अनुदानको व्यवस्था गर्दै आएको उहाँले बताउनु भयो । पशुपालनका लागि घाँस खेती अनिवार्य रहेको छ उहाँले भन्नु भयो, “घाँस खेतीबाट पशुको चारोको व्यवस्था संग वातावरण सन्तुलन राख्न र भू क्षय नियन्त्रण गर्न सघाउ पुग्छ । घाँसबाट सालेज बनाउनका लागि निर्देशनालयले मेसिन खरिद गरी किसानलाई उपलव्ध गराउने योजना अघि सारेको छ ।” दुग्ध संकलन केन्द्र स्थापना, स्वच्छ मासुको उपभोगका लागि अनुदान लगायतका कार्यक्रम सञ्चालन हुदै आएको उहाँले बताउनु भयो । दिर्धकालीन पशुविकासका कार्यक्रम सञ्चालन गर्नका लागि प्रदेश सरकारले कार्यक्रम अगाडी बढाएको उहाँको भनाई रहेको छ । कार्यक्रममा बोल्दै पशु विकास अधिकृत संकरदत्त जोशीले पशु विकासका कार्यक्रम सञ्चालन गर्नका लागि योजनावद्ध रुपमा अगाडी बढनु पर्ने बताउनु भयो ।

छाडा चौपाया व्यवस्थापन केन्द्रमा रहेका चौपायालाई ब्रान
शुक्लाफाँटा नगरपालिका ९ सिसैया स्थीत छाडा चौपाया व्यवस्थापन केन्द्रमा रहेका छाडा चौपायालाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका तर्फबाट विश्व पशुपंछी दिवसका अवसरमा चारोका रुपमा खुवाउनका लागि ल्याईएको ब्रान र नुन हस्तान्तरण गरिएको छ । सात बोरी बढी ब्रान छाडा चौपायालाई खुवाउन हस्तान्तरण गरिएको वडा अध्यक्ष रमेश बहादुर ऐरले बताउनु भयो । सामुायिक छाडा चौपाया व्यवस्थापन केन्द्रमा दुई सय ६५ वटा छाडा चौपायालाई राखिएको छ । छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले रु ४० लाख रकम विनियोजन गरेको छ । केन्द्रमा सात जना गौ स्वयं सेवकलाई राखिएको छ ।

ताजा समाचार