दहि चिउरा खाने दिन
आज असार १५ गते दहि चिउरा खाने दिन तथा राष्ट्रिय धान दिवस, आज असारे रोपाइँमा भागलिने वा नलिने जो सुकैले पनि दही चिउरा खाएर असार १५ मनाउँने गर्दछन् ।
यो दिनलाई नेपाल सरकारले २०६२ साल देखि धान दिवसका रुपमा मनाउदै आएको छ । यो दिनलाइ दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । बुढापाखाहरु भन्ने गर्दछन् दही र चिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै दही पाचन प्रणालीका लागि निकै राम्रो खाद्य पदार्थ हो त्यसकारण अरू बेला पनि दही खानु स्वास्थ्यवद्र्धक हुने बताउछन् ।
राष्ट्रिय धान दिवस
नेपाल कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभागको मूल नारा “धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि” भन्ने नाराका साथ यसवर्ष धान दिवस मनाउदै छ ।
नेपाल कृषि प्रधान देश हो । धान नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समेत महत्वपूर्ण बाली हो । नेपाली समाजका हरेक सामाजिक एवम् सांस्कृतिक कार्यहरुमा धानकै प्राधान्यता रहने हुँदा धान समाजमा अभिन्न पक्षको रुपमा स्थापित छ । हरेक नेपालीको जन्मदेखि मृत्यु सम्मका कर्ममा धानको प्रयोग अपरिहार्य हुन्छ भने वर्षभरी मनाइने विभिन्न चाडपर्वहरुमा समेत यसकै बर्चस्व रहन्छ । नेपालको के हिमाल, के पहाड के तराइ सबै भूगोलमा चामलको उत्तिकै महत्व र वैभव रहेको छ । धान हाम्रो खाद्यान्न मात्र नभएर संस्कृतिको धरोहर पनि हो ।
नेपालमा खेती गरिने कूल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती गरिन्छ जस मध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा वढी छ । अन्नबाली उत्पादनको कूल क्षेत्रफलको करीब ४३ प्रतिशतमा धान खेती हुने गरेको र कूल अन्नबाली उत्पादनमा ५३ प्रतिशत धानको हिस्सा रहेको छ । नेपालमा बार्षिक करिब १.५ खर्ब रुपैयाँ बराबरको धान तथा यसका उप–उत्पादनहरु प्राप्त हुने गर्दछ । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा २६.५० प्रतिशत अंश कृषिको रहेकोमा धानको कृषिक्षेत्रको गार्हस्थ्य उत्पादनमा १५.३५ प्रतिशत योगदान रहेको तथ्यले धानले नेपालीको खाद्य तथा पोषण सुरक्षाको सुनिश्चिता कायमका साथै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको देखाउँछ ।
कृषिप्रधान देश नेपाल अहिले आएर वैदेशिक रोजगारदाताहरुको सर्वप्रीय थलो भएको छ र यसको कारण हो कोदालो लिनुपर्ने हातमा पर्न आएको पासपोर्टको मोह । हरेक वर्ष धान दिवसमा दुईवटा कुरालाई मुख्य केन्द्र बनाइन्छ, एउटा कृषिमा आधुनिकिकरण अनि अर्को खाधान्न आयातमा न्यूनीकरण । बाँझो खेतबारी राखेर बोराका बोरा चामल, दाल, गहुँ आदि हामी आयात गर्ने गर्दछौं जुन नेपाली स्वाभिमान अनि कृषिकर्मको आदर्श बिरुद्ध हो भन्दा फरक पर्दैन् । हाम्रा माटो अनि खोलाका पानीको घनत्वको गहिराईसम्म उत्पादकत्व अनि पौरख लुकेको छ ।
हुन त नेपालको कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध रहेको तथ्याकंले बताउदछ तर आकाशे पानी अनि रसिलो माटोका कारणले अन्य भूमि पनि धानखेतको प्रतिकुल नै भने छैनन् । अब राष्ट्रिय धान दिवसमा नेपालीहरुमा कृषिकर्मप्रतिको एउटा अठोटको खाँचो छ।
छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला
यो गोड्ने, पानी लगाउने अनि उब्जा गर्ने साहस हामीसबै नेपालीहरुमा हुन जरुरी छ । जसरी असारे १५ मा स्वदेश बिदेश जता भएका नेपालीजनले पनि दहि च्यूरा खाने गर्दछन त्यस्तै दहि च्यूरासंगै कृषिकर्ममा आत्मनिर्भरता र माटो खोस्रने साहस आजको दिनले मागेको छ । अब जीवन धान्ने कृषि हैन व्यवसाहीक कृषि गर्ने दिन आएको छ, चामल आयात हैन निर्यातमा उच्चकोटीको देश भनेर नेपाल चिनिने समय आएको छ ।
इतिहास पल्टाएर हेर्दा १९७० को दशक अघि नेपाल विश्वका थोरै मात्र चामलका निर्यातकर्ता देशहरुमा गनिने पाइन्छ भने गएका केही दशकमा हामी सर्वाधिक आयातकर्ता भएका छौं । हामी आयात धेरै र निर्यात कम भएकले व्यापार घाटा सहन गरिरहेका छौं र बेलैमा कृषिकर्ममा ध्यान नदिने हो भने यसको परिणाम भविष्यका पुस्ताले भोग्नेछन् । दुई छाक खान र केही मानो बाँढ्न सबै नेपालीलाई पुगोस् ।